पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा
काठमाडौं । काठमाण्डु गोर्खाज नेपाल प्रिमियर लिग (एनपीएल) सिजन(२ मा प्लेअफमा प्रवेश गरेको छ । बिहीबार भएको खेलमा पोखरा एभेन्जर्सलाई १३ रनले हराउँदै काठमाण्डुले प्लेअफमा स्थान पक्का गरेको हो । ७ खेलबाट ५ जितसहित काठमाण्डुले प्लेअफमा स्थान बनाएको हो ।
यसअघि सुदूरपश्चिम रोयल्सले यसअघि नै प्लेअफमा स्थान बनाइसकेको छ । थप दुई टोलीले प्लेअफमा स्थान बनाउनेछ । चौथो हारसँगै पोखराको प्लेअफमा पुग्ने सम्भावना कठिन बनेको छ । काठमाण्डुले दिएको १६६ रनको लक्ष्य पछ्याएको पोखरा २० ओभरमा १५२ रनमा समेटियो । पोखराका लागि ऋषि धवनले सर्वाधिक ५४ रन बनाएपनि जित पर्याप्त हुन सकेन । कप्तान कुशल भुर्तेल २२, एडम रोसिङटन ५, जेशन रोय १६, तिर्थ राज दास ९, धनन्जय लक्षन ३० र किरणकुमार ठगुन्ना ५ रनमा आउट भए ।
बलिङमा काठमाण्डुका शाहव आलमले ह्याट्रिकसहित ६ विकेट लिए । उनले अन्तिम ओभरको पहिलो, दोस्रो र तेस्रो बलमा विकेट लिएका थिए । कप्तान करण केसी र सन्नी पटेलले दुईदुई विकेट लिए ।
टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको काठमाण्डुले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६५ रन बनाएको थियो । काठमाण्डुका लागि ओपनर वेन चाल्र्सवथले सर्वाधिक ६४ रन बनाए । उनले ५५ बलमा ५ चौका र २ छक्का प्रहार गरे । भीम सार्कीले आक्रामक अर्धशतक बनाए । उनले २३ बलमा ५५ रन बनाएर आउट भए ।
आकाश त्रिपाठी ०, रसिद खान ७, मिलिन्द कुमार १३, जोन सिम्पसन २ र महोम्मद आदिल आलम ७ रनमा आउट भए । सन्नी पटेल २ र कप्तान करण केसी ४ रनमा अविजित रहे । बलिङमा पोखराका धनन्जय लक्षमले सर्वाधिक ४ विकेट लिए । कप्तान कुशल भुर्तेलले दुई तथा विपीन खत्री र किरण ठगुन्नाले एकएक विकेट लिए ।