समुन्नति टोल विकासको साधारण सभा तथा अधिवेशनबाट नयाँ नेतृत्व चयन
गैंडाकोट । गैंडाकोट ५ मा स्थित समुन्नति टोल विकास संस्थाको सातौं साधारण सभा तथा चौँथो अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनले केदार सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
जसको उपाध्यक्षमा मेघराज गिरी, सचिवमा विश्व रोका, कोषाध्यक्षमा कल्पना सापकोटा चयन हुनुभएको छ । त्यस्तै, सदस्यहरुमा सिर्जना चापागाई सापकोटा, भगवती गिरी, मिना तिवारी, शारदा शर्मा उपाध्याय, तिलकुमारी ढकाल (कोपिला), जगन्नाथ अधिकारी र लक्ष्मीदत्त सापकोटा रहनुभएको छ ।
संस्थाका अध्यक्ष सरोज प्रसाद कडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गैंडाकोट–५ का वडा अध्यक्ष रत्नप्रसाद सापकोटाले संस्थाले गर्दै आएको टोलस्तरीय विकास र सामाजिक गतिविधि प्रशंसनीय भएको उल्लेख गर्नुभयो।

आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै कोषाध्यक्ष प्रमिला केसी रोकाले चालू आर्थिक वर्षमा १ लाख २२ हजार ६ सय २३ रुपैयाँ बचत भएको जानकारी गराउँदै उक्त रकम विकु बचत तथा ऋण सहकारी संस्था र राष्ट्रिय वाणिज्य बैंकमा राखिएको बताउनुभयो ।
कार्यक्रममा नीतिगत तथा कार्यक्रमगत प्रतिवेदन प्रस्तुत गर्दै सचिव प्रेमप्रसाद सापकोटाले टोलमा देखिएका समस्याहरूको समाधान गर्दै टोलको हितका लागि निरन्तर कार्य गरिरहेको बताउनुभयो । टोलमा सरसफाइ, पोलबत्ती, मज्याक टायल, विद्युत् तार मर्मत तथा निर्माण कार्यलगायतका कार्यहरु गर्दै आएको जानकारी दिनुभयो ।
त्यस्तै, संस्थाका संस्थापक अध्यक्ष भूमिश्वर सापकोटा, समाजसेवी ओमप्रसाद सापकोटा, सहमति संस्थाका महासचिव भिम शर्मा, शिक्षाविद् गोपाल कडेल, वैकुण्ठनगर टोल विकास संस्थाका सचिव शालिकराम सापकोटा, दिपा घिमिरेलगायत वक्ताहरूले टोलको विकासका लागि एकता, सहकार्य र छिमेकी टोलहरूसँग समन्वय अपरिहार्य रहेको औँल्याउनुभयो । नवनिर्वाचित पदाधिकारीलाई शुभकामना दिँदै समाजका समस्याको सहमतिपूर्ण समाधानमार्फत टोल विकासलाई गति दिन आग्रह गर्नुभयो ।

समुन्नति टोल विकास संस्थाका उपाध्यक्ष इन्दिरा रिजालले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सचिव प्रेम प्रसाद सापकोटाले सहजीकरण गर्नुभएको थियो ।