मुम्बईमा नेपाली समुदायले निमार्ण गरे मनकामना मन्दिर, नेपालको मनकामना मन्दिरबाट लगे अखण्ड दीप

२०८२ मङ्सिर ६ शनिबार १४:०१:०० मा प्रकाशित

भारतको महाराष्ट्र मुम्बई मिरा रोड, ठाणेमा नेपाली समुदायहरुले मनकामना मन्दिर निमार्ण गरेका छन् । नेपाली धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्धन गर्ने उद्देश्यले मुम्बईमा नेपाली समुदायहरुले मनकामना मन्दिर निमार्ण गरेका हुन् ।

 


मन्दिर निमार्णसँगै श्री मनकामना माताको मूर्तिको प्राण प्रतिष्ठा गर्न मनकामना एकता फाउण्डेशनले भव्य महोत्सवको आयोजना गरेको फाउन्डेसनका अध्यक्ष मोतिलाल न्यौपानेले जानकारी दिनुभयो । उहाँको अनुसार मंसिरको ९ गते देखि १४ गते २५ नोभेम्बर देखि ३० नोभेम्बर सम्म भव्य महोत्सवको आयोजना हुँदै छ । महोत्सवको क्रममा भजन किर्तन लगायतका धार्मिक अनुष्ठान,सांस्कृतिक कार्यक्रम, प्रसाद वितरण तथा विभिन्न सामाजिक गतिविधिहरू आयोजना गरिएको फाउण्डेशनका महासचिव केशवराज काफ्लेले जानकारी दिनुभयो ।

 

उहाँका अनुसार महोत्सवको पहिलो दिन मंसिर ९ गते मंगलबार घटस्थापना एवम् मंगलाचरण, वेदपाठ, देवी आह्वान एवम् कलश थापना पन्चेबाजा सहित कलश यात्रा कार्यक्रम तय गरिएको छ । दोस्रो दिन मंसिर १० गते २६ नोभेम्बर बुधवारका विशेष पूजन एवम् हवन प्रारम्भ र भजन किर्तन गरिने छ । मंसिर ११ गते २७ नोभेम्बर २०२५ बिहीबारका दिन नवग्रह पूजन, रुद्राअभिषेक, भक्तजनद्वारा सामूहिक आरतीको कार्यक्रम तय गरिएको छ ।

 

यस्तै मंसिर १२ गते २८ नोभेम्बर शुक्रवारका दिन देवी भागवत कथा वाचन एवम् सांस्कृतिक कार्यक्रम तथा भजन सन्ध्या रहेको छ । मंसिर १३ गते २९ नोभेम्बर शनिबार मुख्य मूर्तिको प्राण प्रतिष्ठा विधि, महाहवन, पूर्णाहुति, आरती, सामुहिक भण्डारा र प्रसाद वितरणको कार्यक्रम रहेको छ ।

 

महोत्सवको अन्तिम दिन मंसिर १४ गते ३० नोभेम्बर आइतबार विशेष कार्यक्रमका बिच महोत्सवको समापन गरिने भएको छ । जसका लागि कालिगण्डकीबाट शिला ल्याएर गोरखाको मनकामना मन्दिरमा स्थापना गरी आज अखण्ड दीप प्रज्वलन गरेर मुम्बई लगिएको हो ।

 

एकता फाउन्डेसनले मुम्बई र वरपर बसोबास गर्ने सम्पूर्ण नेपाली समुदाय बिच हुने यस महान कार्यक्रममा सबैलाई सहभागी हुन आव्हान समेत गरेको छ ।