चितवन मेडिकल कलेजमा “रोबटिक सर्जरी सुरु”
भरतपुर । चितवन मेडिकल कलेज (सिएमसी)ले रोबटिक सर्जरी सुरु गरेको छ । रोबटिक सर्जरी सुरु भएको करिब डेढ महिनाको समयावधिमा रोबटिक सर्जरी प्रविधिको प्रयोग गरी १४ वटा शल्यक्रिया गरिएको कलेजले बताएको छ । रोबटिक सर्जरी प्रविधिमा चिकित्सकले प्रत्यक्ष रुपमा हातले नभई कम्प्युटरद्धारा नियन्त्रण हुने रोबटिक हातहरुको माध्यमबाट अपरेशन गर्ने गर्दछन् ।
रोबटिक तथा युरो सर्जन डा.प्रतीकमान सिंह गुरुङ, जिआई सर्जनहरु डा.विशाल आचार्य र डा.रोहित कुमार मिश्रको नेतृत्वमा रोबटिक सर्जरी सेवा सुरु गरिएको सिएमसीले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
सिएमसीमा सर्जरीको प्रकृतिअनुसार ५० हजारदेखि दुई लाख रुपैयाँसम्ममा रोबटिक सर्जरी गर्न सकिने सिएमसीका सिईओ प्रताप देवकोटाले जानकारी दिनुभयो ।
रोबटिक सर्जरीबाट सानो प्वालमार्फत शल्यक्रिया गर्न सकिने, कम रक्तस्राव, कम पिडा र छिटो निको हुने, संक्रमणको सम्भावना न्यून र दीर्घकालिन सफलता मुख्य विशेषता रहेको छ । रोबटिक सर्जरी सेवा सुरु गरेको अवसरमा शनिबार रोबटिक सर्जरी कन्फ्रेन्स आयोजना गर्न लागिएको छ ।
कन्फ्रेन्समा भारतबाट वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा प्रियंका भात्रा, डा.विरेन्द्र भगत लगायत नेपालबाट समेत गरी २०० जना सहभागी हुनेछन् । उक्त कार्यक्रममा नेपालका जीआई सर्जन, युरो सर्जन, स्त्रीरोग विशेषज्ञ, अंको सर्जन, एनेस्थेसियोलोजिष्ट, जनरल सर्जन तथा रेजिडेन्टहरु र नर्सहरु सहभागी हुने बताइएको छ । कन्फ्रेन्समै ‘लाइभ रोबटिक सर्जरी’ पनि हुनेछ ।