राष्ट्रपति पौडेलद्वारा मधेस प्रदेशका नवनियुक्त प्रदेश प्रमुख कर्णलाई शपथ
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मङ्गलबार शीतल निवासमा आयोजित एक समारोहकाबिच मधेस प्रदेशका नवनियुक्त प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णलाई पद तथा गोपनियताको शपथ गराउनुभएको छ ।
यसअघि, राष्ट्रपति पौडेलले नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिस अनुसार मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गर्नुभएको थियो ।
नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम भण्डारीलाई मङ्गलबारबाट लागु हुने गरी पदमुक्त गरिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । कानुनविपरित मुख्यमन्त्री नियुक्त गरेको भन्दै सरकारले सोमबार भण्डारीलाई पदमुक्त गर्न सिफारिस गरेको थियो ।
भण्डारी मधेस प्रदेशको मुख्यमन्त्रीमा सरोज यादवको नियुक्ति र शपथ विवादमा परेकी थिइन् । बिरामी भएँ भनेर जनकपुरबाट काठमाडौँ प्रस्थान गरेकी प्रदेश प्रमुख भण्डारीले सोमबार बिहान बर्दिबासको एक होटलमा नेकपा एमालेका संसदीय दलका नेता सरोज यादवलाई मुख्यमन्त्रीको पदमा शपथ ग्रहण गराएकी थिइन् ।