नारायणीमा खेलकुद महोत्सवः लन्डन ब्रिज चढेर दुबई सिटी हेर्न पाइने
चितवन । चितवनको नारायणी नदी किनार नारायणगढमा कार्तिक १८ गतेदेखि सुरु हुन लागेको खेलकुद तथा बृहत व्यापार महोत्सबमा प्रवेशका लागि लन्डन ब्रिज बनाइने भएको छ । दर्शकहरुलाई महोत्सव परिसर भित्र प्रवेशका लागि लन्डन ब्रिज बनाउन लागिएको हो ।
आयोजक चितवन जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजन कार्कीका अनुसार दर्शकहरुले मुख्य प्रवेशद्धारमा टिकट लिएपछि लन्डन ब्रिज चढेर भित्र प्रवेश गर्नेछन् । मुख्य प्रवेशद्धारबाट नै दर्शकहरुले अन्य महोत्सवमा भन्दा फरकपन महसुस गर्न पाउने उहाँको भनाइ छ । लन्डन ब्रिजबाट भित्र प्रवेश गरेपछि दर्शकहरुले महोत्सव परिसर भित्रै दुबई सिटी, बुर्ज खलिफा, बुर्ज अल अरब, पेरिसको आइफिल टावरको अवलोकन गर्न पाउनेछन् । दर्शकले अतिरिक्त शुल्क नतिरी तीनको अवलोकन गर्नसक्ने महोत्सव संयोजक विकल क्षेत्रीले जानकारी दिनुभयो ।
महोत्सव परिसर नारायणी नदी किनारमा अहिले तयारी धमाधम भईरहेको छ । महोत्सवमा रहने २० वटा स्टलका लागि ठाउँ तयार गरिएको छ । त्यस्तै, भलिवलका लागि पनि ठाउँ तयार गरिएको जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष कार्कीले बताउनुभयो । अहिले बाल उद्यान र मुभिङ ट्रेनको काम भइरहेको छ भने स्टल निर्माणको काम पनि धमाधम भइरहेको छ । तीन सय बढी स्टल रहने महोत्सवमा कृषि प्रवर्द्धनका लागि छुट्टै प्यागोडा शैलीको ३० भन्दा बढी स्टल रहनेछन् । खेलकुद संघ संस्थाले स्टल राख्न चाहेमा निःशुल्क उपलब्ध गराईने आयोजकले जानकारी दिएको छ ।
तीन सय बढी स्टल रहने महोत्सवमा कृषि प्रवद्र्धनका लागि छुट्टै प्यागोडा शैलीको ३० भन्दा बढी स्टल रहनेछन् । नेपालका चर्चित कलाकारहरुले हरेक दिन प्रस्तुति दिनेछन् भने हरेक दिन साँझ ६ः३० बजेपछि फुड फेस्टिवल र बिशेष सांस्कृतिक कार्यक्रम हुनेछ । मंसिर २ गतेसम्म चल्ने महोत्सव सम्पन्न गर्नका लागि अनुमानित एक करोड ५० लाख खर्च हुने कार्कीले बताउनुभयो । महोत्सवबाट खर्च कटाएर बचत भएको रकम जिल्लाको खेल क्षेत्रको विकास र प्रवद्र्धनमा खर्च गर्ने आयोजकले जनाएको छ ।