दूध प्रशोधन गर्दै चितवन दुग्ध उत्पादक सहकारी सङ्घ
चितवन । जिल्लाका दुग्ध उत्पादक सहकारी सङ्घको छाता संस्था चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घले आफैँले दूध प्रशोधन सुरु गरेको छ । सङ्घले रत्ननगर नगरपालिका-५ झुवानीमा गौरीधारा डेरी उद्योग भाडामा लिएर अस्थायी रुपमा दूध प्रशोधन सुरु गरेको जनाएको छ ।
सङ्घले स्थायी रुपमा दूध प्रशोधनका लागि भने भरतपुर महानगरपालिका-१५ फूलबारीमा पाँच कट्ठा जग्गासमेत खरिद भइसकेको जनाएको छ । उक्त जग्गामा उद्योग सञ्चालनका लागि बागमती प्रदेश सरकारबाट रु ५० लाख विनियोजन भइसकेको सङ्घका जिल्ला अध्यक्ष किशोर बगालेले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “अहिले अस्थायी रुपमा झुवानीमा दूध प्रशोधन सुरु भइसकेको छ, अहिले दूधका साथै घिउ, नौनी, पनिर, खुवा, दही, मोही उत्पादन सुरु भएको छ ।” उहाँका अनुसार हाल उक्त प्लान्टमा दैनिक एक हजार लिटर दूधसम्म प्रशोधन गर्न सकिन्छ ।
फूलबारीमा आफ्नै प्लान्ट स्थापना भएपछि भने दैनिक दुई हजार लिटरसम्म दूध प्रशोधन गर्न सकिने उहाँको भनाइ छ । भविष्यमा उद्योगको क्षमता बढाएर दैनिक १५ हजार लिटरसम्म दूध प्रशोधन गरिने सङ्घको लक्ष्य रहेको छ । “भविष्यमा आइसक्रिम, चकलेटलगायत उत्पादन गर्ने लक्ष्यका साथ प्लान्ट स्थापना हुनेछ”, उहाँले भन्नुभयो ।
सङ्घका अनुसार जिल्लामा दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुने गर्दछ । जसमध्ये एक लाख ५० हजार लिटर दूध बजारमा बिक्री हुँदै आएको छ । चितवनमा उत्पादन हुने दूध काठमाडौँ, पोखरा, हेटौँडालगायत सहरमा पुग्छ । जिल्लाका १ सय १५ वटा सहकारीले दूध सङ्कलन गर्ने गर्दछ । ती सहकारीमा ४० हजारभन्दा बढी किसान आबद्ध रहेका छन् । रासस