नेपाल प्रिमियर लिगको ट्रफी गैंडाकोट ल्याइने
गैंडाकोट । नेपाल प्रिमियर लिगको ट्रफी टुर नवलपुरमा हुने भएको छ । नेपाल क्रिकेट संघको आयोजनामा सञ्चालित नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो सिजन सुरु हुनै लाग्दा ट्रफी गैंडाकोटमा ल्याउन लागिएको हो ।
नवलपुर क्रिकेट संघको आयोजनामा कात्तिक १० गते बिहान ७ः३० बजे ट्रफी गैंडाकोटको नवजागरण क्रिकेट रंगशालामा ल्याउन लागेको नवलपुर क्रिकेट संघका अध्यक्ष धामनाथ सापकोटाले जानकारी दिनुभयो । नेपाली क्रिकेटलाई माया गर्ने दर्शकहरूले एनपीएलको ट्रफीलाई नजिकैबाट हेर्न पाउने अध्यक्ष सापकोटाको भनाई छ । अध्यक्ष सापकोटाका अनुसार ट्रफीलाई भरतपुर एयरपोर्टदेखि गैंडाकोट ९ नवजागरण क्रिकेट रंगशालाबाट हनुमान मन्दिर परिक्रमा गरिनेछ ।
गण्डकी प्रदेशको प्रतिनिधित्व गर्ने टोली पोखरा एभेन्जर्सले गैंडाकोटमा ट्रफीको टुर गर्न लागेको गण्डकी प्रादेशिक क्रिकेट संघका उपाध्यक्ष प्रकाश पौडेलले जानकारी दिनुभयो । ट्रफी टुरसँगै प्रतियोगितामा एक जना स्थानीय नवप्रतिभालाई टोलीमा समावेश गर्ने प्रावधान अनुसार ट्यालेन्ट हन्ट कार्यक्रम गर्न लागेको उपाध्यक्ष पौडेलले बताउनुभयो । ट्यालेन्ट हन्ट कार्यक्रममा सहभागी हुन चाहने खेलाडीले पोखरा एभेन्जर्सको अफिसियल फेसबुक पेजमा गएर गुगल फर्म भरि नाम दर्ता गर्नुपर्ने आयोजकले जानकारी दिएको छ । छनोट कार्यक्रम कार्तिक १० गते सोमवार (भोली) बिहान रोयल क्रिकेट एकेडेमी देवचुलीमा हुने छ ।
गण्डकी प्रदेश प्रतिनिधि फ्रेन्जाइज टिम रहेको पोखरा एभेन्जरले गण्डकी प्रदेशमा क्रिकेटको आधार तहदेखि प्रतिभा विकास र प्रवर्धन गर्ने उद्देश्यका साथ ट्यालेन्ट हन्ट कार्यक्रममार्फत आइकोनिक खेलाडी छनौट गरी अनुबन्धन गर्ने पोखरा एभेन्जर्सको कार्यक्रम रहेको छ। जिल्लामा लुकेका युवा तथा प्रतिभाशाली खेलाडीलाई सहभागिताका लागि पनि पोखरा एभेन्जरर्सले अनुरोध गरेको छ।
ट्रफीलाई यसअघि चितवन जिल्लामा भ्रमण गराइएको थियो । नेपाल क्रिकेट संघ क्यानद्वारा आयोजना हुने दोस्रो संस्करणको नेपाल प्रिमियर लिग मङ्सिर १ गतेदेखि शुरु हुँदैछ । ।