जेनजी आन्दोलनमा नवलपुरमा ५० वटा भौतिक संरचना र ४३ सवारीसाधनमा क्षति

नवलपुर । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा नवलपुरमा भएको तोडफोड र आगजनीको पूर्ण विवरण नआइपुगे पनि तथ्य सड्ढलन गर्ने कार्य भइरहेको छ । आन्दोलनकारीले नवलपुरमा नेता तथा जनप्रतिनिधिहरुको निजी घरदेखि सरकारी कार्यालय, सरकारी सवारीसाधन, प्रहरी कार्यालय र पार्टी कार्यालयसम्ममा क्षति पु¥याएका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक मधु नेपालले अहिलेसम्म पनि क्षति सड्ढलन कार्य भइरहेको बताउनुभयो । जेनजी पुस्ताको आन्दोलनका क्रममा नवलपुरमा ५० वटा भौतिक संरचना र ४३ वटा सवारीसाधनमा क्षति भएको उहाँको भनाइ छ ।
प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले दिनुभएको जानकारीअनुसार निजी आवास भवन २० वटा, तीनवटा पालिका र ६ वटा वडासहित नौवटा स्थानीय तहका भवन, पार्टी कार्यालय १६ वटा, दुईवटा प्रहरी चौकी, मौलाकालिका केबलकारसहित व्यावसायिक भवन दुईवटा, सामाजिक विकास कार्यालयको भवन एउटा गरी ५० वटा भवनमा आगजनी र तोडफोड भएको छ । त्यसैगरी, ४३ वटा सवारीसाधनमा आगजनी र तोडफोड भएको छ, जसमध्ये चारपाङ्गे्रे र दुईपाङ्ग्रे गरी स्थानीय तहका २१ वटा, निजी सवारीसाधन १४ वटा र आठवटा सरकारी सवारीसाधन गरी ४३ वटामा तोडफोड र आगजनी गरिएको प्रजिअ पाण्डेले जानकारी दिनुभयो । प्रदर्शनकारीले ७ वटा साइकलमा पनि आगजनी गरेका छन् । यो तोडफोड र आगजनीबाट कति क्षति भयो भन्ने यकिन भइसकेको छैन ।
प्रजिअ पाण्डेका अनुसार तोडफोडबाट भएको क्षतिको मूल्याङ्कन गर्नका लागि प्रदेश पूर्वाधार कार्यालयका इन्जिनियर कृष्ण आचार्यको नेतृत्वमा प्राविधिक समिति गठन गरिएको छ । पाँच सदस्यीय उक्त समितिलाई आगामी शुक्रबारसम्ममा प्रतिवेदन बुझाउन भनिएको पाण्डेले जानकारी दिनुभयो ।