जेनजी आन्दोलनका क्रममा चितवनमा मात्र ९८ वटा भवन संरचनाहरूमा क्षति

२०८२ भदौ ३० सोमबार १६:३२:०० मा प्रकाशित

चितवन । जेनजी आन्दोलनका क्रममा चितवनमा मात्र ९८ वटा भवन संरचनाहरूमा क्षति पुगेको छ भने एक जनाको मृत्यु भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनको प्रारम्भिक विवरणअनुसार प्रदर्शनकारीहरूले ७९ वटा सार्वजनिक संरचना, १६ वटा निजी घर तथा प्रतिष्ठान र ३ वटा पार्टी कार्यालय गरी कुल ९८ वटा संरचनामा तोडफोड र आगजनी गरेका छन् ।


जिल्ला प्रशासन कार्यालय चितवनले सोमबार पत्रकारहरूसँगको अन्तरक्रियाका क्रममा भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनमा ७९ वटा सार्वजनिक र १६ निजी तथा ३ वटा राजनीतिक दलका भवनहरूमा क्षति पुगेको जानकारी दिएको छ । प्रशासनले प्रदर्शनको समयमा एक युवकको मृत्यु भएको जानकारी दिएको छ ।  

प्रदर्शनले हिंसात्मक रूप लिँदा भरतपुर-२१ का १९ वर्षीय सरोज गुरुङको पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको थियो । सो झडपमा १४ जना प्रदर्शनकारी र १२ जना सुरक्षाकर्मी घाइते भएका छन् । जसमध्ये ४ जनाको अझै अस्पतालमा उपचार भइरहेको छ ।

 

जेनजी आन्दोलनको स्थितिलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीले २०० राउन्ड हवाई फायर र ३५० सेल अश्रुग्याँस प्रहार गरेको प्रशासनको विवरणमा उल्लेख छ । जिल्लामा उत्पन्न असहज स्थितिको मौका छोपी जिल्ला कारागार भरतपुरबाट सबै ७ सय ४२ जना कैदीबन्दी भागेका थिए ।


प्रशासनका अनुसार हालसम्म ३ सय २७ जना कैदीबन्दी मात्र कारागारमा फिर्ता भएका छन् भने भागेका मध्ये ५ जनालाई रुपन्देही र तनहुँबाट पक्राउ गरिएको छ । फरार रहेका अन्य कैदीहरूको खोजी कार्य जारी रहेको जनाइएको छ ।

 

घटनापछि हाल जिल्लाको जनजीवन सामान्य बन्दै गएको र सार्वजनिक यातायात तथा विद्यालयहरू पुनः सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिनुभयो । क्षतिको यकिन विवरण सङ्कलन गर्न समिति गठन गरी काम अगाडि बढाइएको र यथाशीघ्र पूर्ण विवरण सहितको श्वेतपत्र सार्वजनिक गरिने उहाँले बताउनुभयो ।