कास्की मालपोत अनिश्चितकालका लागि बन्द

२०८२ भदौ ३० सोमबार १६:२२:०० मा प्रकाशित

पोखरा । जिल्ला मालपोत कार्यालय कास्कीले भौतिक संरचनाको पुनः निर्माणपछि मात्रै सेवा सुरु गर्ने भएको छ । भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा कार्यालय भवन जलेर नष्ट भएको छ । त्यहाँभित्रका सम्पूर्ण कागजात समेत जलेर नष्ट भएका छन् ।

कार्यालयका महत्त्वपूर्ण सरकारी अभिलेख तथा कागजातहरू जलेर नष्ट भएका कारण सेवा दिन सक्ने अवस्था नरहेको मालपोत कार्यालयले सूचना जारी गरी जानकारी गराएको छ । निमित्त प्रमुख मालपोत अधिकृत शोभाखर पोखरेलले कार्यालयको मोठ, रजिस्ट्रेसन शाखा र मुद्दा, तामेली शाखामा ठुलो क्षति पुगेको बताउनुभयो ।

 

‘कार्यालयको भौतिक तथा प्राविधिक पुनः निर्माण नभएसम्म कार्य सञ्चालन गर्न असमर्थ भएको हुँदा अर्को सूचना प्रकाशित नभएसम्म यस कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवाहरू बन्द रहने ब्यहोरा सूचित गरिन्छ,’ जारी सूचनामा उल्लेख छ । योसँगै कास्की जिल्लामा जग्गाको किनबेच (रजिस्ट्रेसन पास), नामसारी, अंशबन्डा, रोक्का, फुकुवा, धितो बन्धक लगायतका सबै कामहरू पूर्ण रूपमा ठप्प भएका छन् । जलेका अभिलेखहरूको पुनः व्यवस्थापन र कार्यालयको पुनर्निर्माण कहिलेसम्म सम्पन्न हुन्छ भन्नेबारे निश्चित छैन ।