फिर्ता हुन थाल्यो सिरहामा लुटिएका चामल र चिनी

२०८२ भदौ ३० सोमबार १४:०४:०० मा प्रकाशित

सिरहा । सिरहाको लहान नगरपालिका-१ स्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीको गोदामबाट लुटपाट गरिएको खाद्यान्न फिर्ता हुन थालेको छ । भदौ २४ गतेको आन्दोलनका क्रममा दिउँसो कम्पनीको गोदामबाट चामल, चिनी लुटपाट भएको थियो। कार्यालयले कडा निर्देशन जारी गरेपछि खाद्यान्न फिर्ता हुन थालेको इलाका प्रशासन कार्यालय लहानका प्रशासकीय अधिकृत सन्तोष रायले जानकारी दिनुभयो ।

 

फिर्ता नगर्नेलाई सिसिटिभी फुटेज र सामाजिक सञ्जालमा उपलब्ध फोटो भिडियोका आधारमा पहिचान गरी कानुनी कारबाही गरिने भनेपछि स्थानीय युवाहरूको सक्रियतामा चामल र चिनी क्रमशः फिर्ता हुन थालेको उहाँको भनाई छ । केही व्यक्तिहरूले स्वयं आएर र केहीले स्थानीय युवाको माध्यमबाट आइतबार चामल र चिनी फिर्ता गरेका हुन् ।

खाद्य कम्पनी लहान शाखाका सूचना अधिकारी अनिलकुमार महतोका अनुसार, आइतबार बेलुका ९ बजेसम्म ७१ क्वीन्टल चामल र करिब १८ क्वीन्टल चिनी फिर्ता भएको छ । फिर्ता गर्नेको नाम भने गोप्य राखिएको छ । विवरणअनुसार, चार वटा गोदाममा भण्डारण गरिएको आठ हजार १ सय ४८ क्वीन्टल चामल, तीन हजार २ सय २० क्वीन्टल चिनी, ५३ क्वीन्टल २१ किलो धान र ९८ हजार ८ सय १५ थान जुटका बोरा लुटिएका थिए । उहाँका अनुसार यसको अनुमानित मूल्य रु १० करोड ९१ लाख २२ हजार ८ सय २७ बराबर रहेको छ ।


खाद्यान्नलाई सुरक्षित राख्न प्रयोग गरिने विशेष प्रकारका फ्युमिगेसन सिट लुटिएको छ। महतोका अनुसार, ती सिटहरू अत्यन्तै भारी हुने र उठाउन कम्तीमा १० जनाको आवश्यकता पर्दछ । यस्तो सिट खाद्य कम्पनीसँग मात्रै रहेको जनाइएको छ । लुटपाटको क्रममा कार्यालय परिसरमा राखिएकोे कार र मोटरसाइकलमा पनि आगजनी गरिएको छ । खाद्यकर्मीको क्वार्टरबाट ल्यापटप, खाना पकाउने दुई थान ग्यास सिलिण्डर तथा मोबाइलसमेत लुटिएको छ । यसअघि विसं २०६३ को मधेस आन्दोलनसहित अन्य विभिन्न आन्दोलनका क्रममा गरी हालसम्म तीन पटक लहानको खाद्य कम्पनीमा लुटपाट भइसकेको छ ।