गैँडाकोटमा १५ दिने मगर भाषा अक्खा लिपि प्रशिक्षण 

२०८२ भदौ ३० सोमबार ०८:२९:०० मा प्रकाशित

गैँडाकोट नगरपालिकाको समन्वय तथा नेपाल मगर संघ नगर समिति गैँडाकोट, नवलपरासीको आयोजनामा १५ दिने मगर भाषा अक्खा लिपि प्रशिक्षण तालिम सुरु भएको छ। किसान साकोस विजयनगर सेवा केन्द्र, गैँडाकोट–८ मा भइरहेको तालिममा मातृभाषामार्फत मगर समुदायको धर्म, संस्कृति, भेषभूषा र पहिचान जर्गेना गर्ने उद्देश्य राखिएको छ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल मगर संघ नगर समिति गैँडाकोटका अध्यक्ष दुर्गबहादुर पुर मगरले गण्डकी प्रदेश सभाले २०८२ असार २४ गते पारित गरेको सरकारी कामकाजको भाषासम्बन्धी विधेयकले मगर भाषालाई औपचारिक रुपमा उपयोग गर्ने मार्ग प्रशस्त गरेको बताउँदै, सोही अवसरलाई व्यावहारिक बनाउन तालिम सुरु गरिएको उल्लेख गर्नुभयो।

तालिमका मुख्य प्रशिक्षक तथा नेपाल मगर लेखक संघ गण्डकी प्रदेशका अध्यक्ष खडका पामी आले मगरले सहभागीहरुलाई मगर भाषालाई अक्खालिपिमा लेख्ने, पढ्ने र नेपाली भाषाबाट रूपान्तरण गर्ने तरिका सिकाइरहेको जानकारी दिनुभयो।

कार्यक्रममा नेपाल मगर संघ नगर समितिका पदाधिकारी तथा उल्लेखनीय संख्यामा प्रशिक्षार्थीहरूको सहभागिता रहेको आयोजकहरूले जनाएका छन्।