देशका विभिन्न ठाउँमा बिहानैदेखि वर्षा, दिउँसो यी प्रदेशमा हुनेछ धेरै भारी वर्षा

२०८२ भदौ ३० सोमबार ०७:३८:०० मा प्रकाशित

काठमाडौं । देशका विभिन्न स्थानमा आज पनि वर्षा हुनेछ । काठमाडौंमा बिहानैदेखि वर्षा भइरहेको छ । मध्यमदेखि भारी र धेरै भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ । लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका धेरै तथा तराई भू–भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ ।


गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा तथा कोसी र वाग्मती प्रदेशको एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको एकदुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ । विभागले राति देशभर साधारणतया बदली रहने बताएको छ । कोसी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा कोसी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ ।

हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपासमा छ । अरब सागर तथा बङगालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेकाले धेरै भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ ।