जेन-जी आन्दोलन प्रभाव- घरमै सीमित भयो जितियाको रौनक

२०८२ भदौ ३० सोमबार ०८:२५:०० मा प्रकाशित

चितवन । थारु समुदायले मनाउने मौलिक पर्व जितियामा यसवर्ष चितवनमा कुनै सार्वजनिक कार्यक्रम नहुने भएको छ ।

 

आदिवासी थारु समुदायले यसलाई धुमधामका साथ मनाउने परम्परा भए पनि यसपटक जेन-जी आन्दोलनका प्रभावका कारण जिल्लामा जितियाको रौनकता देखिएको छैन।

 

हिजोदेखि सुरु भएको यस पर्वको आज मुख्य दिन हो । पहिलो दिनलाई मछुवारी अर्थात् माछामार्ने दिन भनिन्छ। थारु समुदायले खोलानाला तथा तालहरुमा गएर माछा मार्ने र घरमा परिकार बनाएर खाने चलन छ। यस दिनलाई ‘लहाखाई’ पनि भनिन्छ। ब्रत बस्ने महिलाले नुहाएर मात्रै भोजन गर्ने भएकाले लाहा खाई भनिएको हो ।

 

 

जितिया पर्व आश्विन कृष्णपक्षको सप्तमी, अष्टमी र नवमी गरी तीन दिन मनाइन्छ। पहिलो दिन सप्तमीलाई लाहा खाएके, दोस्रो दिन अष्टमीलाईउ पास (उपवास) र तेस्रो दिन नवमीलाई पारन भनिन्छ ।

 

यसवर्ष जितियाको अवसरमा जिल्लाका दशवटा क्षेत्रमा सांस्कृतिक कार्यक्रम गर्ने तयारी भए पनि सबै कार्यक्रम स्थगित गरिएको छ। थारु कल्याणकारिणी सभा चितवनका जिल्ला सभापति ललितकुमार चौधरीका अनुसार, गाउँघरमा मात्र सीमित गरी पर्व मनाउने तयारी भएको हो ।

 

जिल्ला सचिव शन्तकुमार चौधरीले भने, आन्दोलनका क्रममा धनजनको ठूलो क्षति भएकाले राष्ट्र शोकमा परेको बेला ठूलो धुमधाम गर्न नसकिने भएकोले घरघरमा मात्रै सिमित गर्ने निर्णय गरिएको हो ।

 

उनका अनुसार यस वर्ष गीत, झमटा नाच र स्टेज कार्यक्रम रद्द गरिएको छ। अब समुदायले आफ्ना गाउँघरमा भेला भई कथा सुन्ने, नजिकैका खोला–तालमा स्नान गर्ने र परिवारमै सिमित रुपमा पर्व मनाउने जनाएका छन् । nepalpress

 

चितवनमा थारुहरुको बाक्लो बसोबास हुने रत्ननगर, कालिका, खैरहनी, राप्ती, मेघौली र माडी क्षेत्रमा विगतमा जितिया भव्य रूपमा मनाइन्थ्यो । झण्डै १ लाखको हाराहारीमा थारु समुदायको जनसंख्या रहेको छ ।