नवलपुर जिल्ला बार एशोसिएसनद्वारा जेनजी आन्दोलनमा भएको हिंसाप्रति विरोध

२०८२ भदौ २४ मंगलबार १४:१५:०० मा प्रकाशित

नवलपुर । नवलपुर जिल्ला अदालत बार एशोसिएसनले हालै भएको जेनजी आन्दोलनका क्रममा भएको हिंसा, मृत्यु र घाइते घटनाप्रति गहिरो दुःख प्रकट गर्दै दोषीविरुद्ध छानबिन गरी कानूनी कारबाही गर्न सरकारसँग माग गरेको छ।


बार एशोसिएसनले आज एक विज्ञप्ति जारी गर्दै प्रदर्शन नियन्त्रणका क्रममा प्रहरीले गोली चलाउँदा सर्वसाधारण नागरिकको ज्यान गएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। विज्ञप्तिमा हिंसा, विसंगति, अन्याय र भ्रष्टाचारविरुद्ध उठेका युवाहरूको आन्दोलनलाई हिंसात्मक ढंगले दमन गर्नु अस्वीकार्य रहेको उल्लेख छ।


एशोसिएसनले मृत्यु भएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ । साथै, शान्तिपूर्ण प्रदर्शन गर्नु प्रत्येक नागरिकको मौलिक अधिकार भएको भन्दै आगामी दिनमा यस्ता घटनाप्रति संवेदनशील बन्न सरकारलाई आग्रह गरेको छ।


विज्ञप्तिमा भनिएको छ, “आन्दोलनका क्रममा भएको घटनामा निष्पक्ष छानबिन गर्न समिति गठन गरी दोषीलाई कारबाही गर्नुपर्छ। मृतक परिवारलाई तत्काल उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्छ।”
नवलपुर जिल्ला बार एशोसिएसनले सरकारसँग शान्तिपूर्ण आन्दोलन गर्ने अधिकार सुनिश्चित गर्न, कानूनी र संवैधानिक दायित्व अनुसार कदम चाल्न र मृतक परिवारलाई न्याय दिलाउन जोड दिएको छ।