भरतपुर अस्पतालमा ८९ प्रतिशत ज्येष्ठ नागरिकले लिए बिमामार्फत सेवा

२०८२ भदौ १८ बुधबार १३:४९:०० मा प्रकाशित

चितवन । गएको महिनामा भरतपुर अस्पतालमा उपचारका लागि आएका ज्येष्ठ नागरिकमध्ये ८९ प्रतिशतले स्वास्थ्य बिमामार्फत उपचार गराएका छन् । ज्येष्ठ नागरिकको उपचारको भरोसा स्वास्थ्य बिमा बनेको छ ।


सत्तरी वर्ष माथिकाहरुको स्वास्थ्य बिमा निःशुल्क हुन्छ । एक पटक बिमा गरेपछि नवीकरण गरिरहनुपर्दैन । यसबाट उनीहरुले निःशुल्क उपचार पाउने गर्दछन् । सुरुमा नागरिकता र एकप्रति फोटो बुझाएपछि बिमामार्फत उपचार पाउँछन् । त्यसो त ज्येष्ठ नागरिकले बिमा शुल्कको प्रिमियम (साझेदारी) रकम बुझाउनुपर्दैन ।


भरतपुर अस्पतालको स्वास्थ्य बिमा कार्यक्रमका इञ्चार्ज लिलाधर पौडेलका अनुसार साउन महिनामा ८० वर्ष कटेका एक हजार ९ सय ८२ पटक ज्येष्ठ नागरिकले अस्पतालबाट सेवा लिएका छन् । जसमध्ये एक हजार ७ सय ७६ पटक स्वास्थ्य बिमामार्फत उपचार सेवा लिएका हुन् । यो प्रतिशतको हिसाबले ८९ प्रतिशत हुन आउँदछ । सोही महिना ६० देखि ७९ वर्ष उमेरसम्मका १३ हजार ६ सय ५२ पटक उपचार लिएकोमा ८६ प्रतिशतअर्थात् ११ हजार ९ सय २७ पटक स्वास्थ्य बिमाका रहेका छन् ।

अस्पतालमा साउन महिनामा ६० हजार ४ सय ७२ पटक बिमामार्फत उपचार सेवा दिईएको छ । अधिकांश ज्येष्ठ नागरिक दीर्घरोगी हुने गरेका छन् । पौडेलका अनुसार मधुमेह, उच्च रक्तचाप, कोलस्ट्रोल, प्रोष्ट्रेड, थाइराइडलगायतका हुने गरेका छन् ।

 

स्वास्थ्य बिमामा नजोडीएका बाँकी ज्येष्ठ नागरिकलाई पनि सेवामा जोड्नुपर्ने पौडेल बताउनुहुन्छ । यसबाट विपन्न नागरिकले निःशुल्क सेवा पाउँदा उपचारबाट वञ्चित हुनुपरेको छैन । भरतपुर अस्पतालको औषधि वितरण कक्ष (फार्मेसी) बाट औषधि लिएर फर्कदै गर्नुभएका हरिप्रसाद सिग्देल बुबाका लागि औषधि लिन आउनुभएको हो । ९३ वर्षीय बुबा प्रेमनाथ सिग्देल उपाध्यायको नियमित प्रयोग हुने औषधि छोराले लिएर जाँदै हुनुहुन्थ्यो ।

 

बुबाको स्वास्थ्यमा समस्या देखिए मात्र ल्याउने गरेको भन्दै उहाँले अन्य समयमा आफूले आएर औषधि लैजाने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “बिमाका कारण निकै सहज भएको छ ।” औषधि सकिँदा पैसा नभएर खरिद गर्न जान पाइन्न भन्ने समस्या नहुने गरेको उहाँले बताउनुभयो । हरेक महिना रु सात हजारको औषधि बिमामार्फत लैजाने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “पैसाको समस्या भयो । औषधि खान पाइन भन्ने समस्या आएको छैन ।” उहाँको बुबाले उच्च रक्तचाप, प्रोष्टेड, दम र ग्याष्टिकको औषधि नियमित खाँदै आउनुभएको छ ।

 

अस्पतालमा भरतपुर महानगरपालिका–५ की ७२ वर्षीया केशवती दवाडीका लागि श्रीमान् औषधिको लाइनमा हुनुहुन्थ्यो । उहाँले श्रीमतीको बिमाको कार्ड देखाउँदै भन्नुभयो, “सधैँ आएर औषधि लैजाने गरेको छु ।” सरकारले बिमामार्फत ज्येष्ठ नागरिकलाई निःशुल्क उपचार र मासिक भत्ता दिन थालेपछि ज्येष्ठ नागरिक निकै खुसी हुने गरेका छन् ।

 

भरतपुर अस्पतालमा उपचारका लागि आउने ज्येष्ठ नागरिकको सङ्ख्या बढ्दै गए पछि छुट्टै बहिरङ्ग सेवा (जेरियाट्रिक ओपिडी) सुरु गरिएको छ । ज्येष्ठ नागरिक बहिरङ्ग सेवाको संयोजन गर्नुभएका डा.प्रतीक न्यौपानेका अनुसार ज्येष्ठ नागरिकले अरुसरह उपचार लिँदा लामो समय पालो पर्खनुपर्ने भए पछि यही भदौ १५ गतेबाट छुट्टै बहिरङ्ग सेवा सुरु गरिएको बताउनुभयो । अस्पतालले १६ श्ययाको ज्येष्ठ नागरिक वार्ड पनि सञ्चालन गरेको छ । यसका अतिरिक्त अन्य वाडहरुमा पनि राखेर ज्येष्ठ नागरिकलाई उपचार गरिँदै आएको छ । रासस