“राजधानीबाट विजयलाई सुन्दा र हेर्दा”

२०८२ भदौ ५ बिहीबार १३:५०:०० मा प्रकाशित


काठमाडौँको भीडभाड, कोलाहल र निरन्तर दौडधुपबीच पनि म सुनिरहन्छुु एक परिचित ध्वनि – “समुुदायको आवाज विजय एफएम १०१.६।” जबजब सुुन्छुु यो ध्वनि अनी मन एक्कासी गैँडाकोट पुग्छ । सामुदायिक रेडियो विजय एफएमसँग मेरो श्रोताको सम्बन्ध मात्र छैन, जीवनको सात वर्ष लामो आत्मिय सम्बन्ध पनि गाँसिएको छ । 

गैँडाकोटमा जब म पहिलो पटक विजय एफएमको स्टुडियो भित्र छिरेँ, त्यतिबेला रेडियो मेरो लागि केवल प्रसारण माध्यम मात्र थियो । तर समय बित्दै जाँदा मैले बुझेँ– रेडियो भनेको समुदायको आत्मा हो, आवाज हो र आशाको ऊर्जा हो । 

कार्यक्रम बनाउन, समाचार पढ्न, अन्तर्वार्ता लिन र श्रोतासँग प्रत्यक्ष सम्पर्क गर्न सक्ने त्यो मञ्च मेरो विद्यालय जस्तै बन्यो  । जहाँ मैले पत्रकारिताको पहिलो अक्षर लेखेँ । माइक्रोफोनलाई साथी बनाएँ । रेडियोको शक्ति प्रत्यक्ष अनुभव गरेँ । जहाँ मैले भुईंमान्छेका कुरा सुन्न पाएँ । उनिहरुको दुःख बुझ्न पाएँ । भुईंमान्छेहरु नैसर्गिक अधिकारहरुको पहुँचबाट कति टाढा हुने रहेछ, त्यो देख्न पाएँ र आत्मबोध गर्न पाएँ । अझ सरल अर्थमा भन्दा “विजयबाटै मैले समाज बुझ्न पाएँ ।”

विजय एफएममा छँदा, अन्तर्वार्ता लिँदै गर्दाको क्षण । 

विजय एफएमको २२ वर्ष लामो यात्रामा मैले बिताएको सात वर्ष छोटो हो । तर ती सात वर्ष मेरो जीवनका आधारशिला हुन् । आज म काठमाडौँमा छु ।  यहाँ रेडियोको विकल्प धेरै छन्—टेलिभिजन, अनलाइन, सामाजिक सञ्जाल । तर जब काठमाण्डौँको कोठमा बसेर विजय एफएम ट्युन गर्छुु, मलाई अझै लाग्छ, रेडियो केवल माध्यम मात्र होइन, रेडियो भावना हो, रेडियो जन्मभूमीको सुगन्ध हो, रेडियो त्यहाँका समुदायको आत्मा हो ।” 

विजय एफएममा छँदा, फिल्डमा रिपोर्टिङ गर्दाको क्षण । 

विजय केवल मेरो अघिल्लो कार्यस्थल भएकै कारणले मात्र अब्बल भनिरहेको छैन, यो त साँच्चिकै अन्य सामुदायिक रेडियोभन्दा व्यवस्थापन र सामग्रीमा अरु भन्दा अलग देखिन्छ । समाचार उत्पादन होस् वा सामाग्री तयार पार्ने तरिका, क्रियाशील सञ्चार सारथीहरुको व्यवस्थितपन साँच्चिकै प्रेरणादायी छ । प्रविधिको प्रयोगदेखि कर्मचारी व्यवस्थापनसम्म विजयले सदैव नमुना प्रस्तुत गरेको छ । त्यहाँबाट भन्दा टाढा रहेर हेर्न र बुझ्न सहज हुने रहेछ । 

म अहिले सीआइएनमा रहेर देशभरका सामुदायिक रेडियोसँग नजिकबाट परिचित हुन पाएको छु । धेरै रेडियोहरूमा आ–आफ्नै संघर्ष छन्, कसैलाई स्रोतको कमी, कसैलाई तालिमको कमी, कसैलाई व्यवस्थापनमा कठिनाइ छन् । तर जब म काठमाडौँबाट विजयलाई श्रोताको हैसियतले सुन्छु, एउटा कुरा महसुस हुन्छ र ढुक्कले भन्न सक्छु “यो रेडियो केवल मेरो आफ्नै भएर मात्र उत्कृष्ट लागेको छैन, यो त साँच्चिकै उत्कृष्ट छ ।” मैले सीएनएनमा तालिम लिँदै छु । सीएमआरको पनि तालिम लिँदै छु । अरु समकक्ष साथीहरुको अनुुभव सुुन्दै गर्दा ठोकुुवा गरेर भन्न सक्छुु की । भूगोलको हिसाबमा विजय स्थानीय रेडियो भएता पनि भ्यालुु र भ्युुजको हिसाबमा राष्टिय स्तरकै मिडिया हो ।  दक्षताको हिसावमा पनि उत्कृष्ट मिडिया हो । 

विजय एफएममा छँदा, अन्तर्वार्ता लिँदै गर्दाको क्षण । 

विजयले समुुदायलाई समाचारका स्रोतको रुपमा मात्र होइन, समुदायलार्ई आम्दानीको रुपमा पनि जोडेको छ । स्थानीय व्यवसाय र संघसंस्थासँगको सहकार्यमा विज्ञापन र कार्यक्रममा सहकार्य, स्थानीय सरकारको सहयोग विजयको अब्बल पक्ष हो । यसले रेडियोलाई भविष्यका लागि पनि बलियो बनाउँछ । 

सामुदायिक रेडियो केवल गीत–संगीत बजाउने मञ्च मात्र होइन, यो त गाउँघरको दैनिकी, संघर्ष र आशालाई जोड्ने माध्यम हो । यही रेडियो हो, विजय एफएम, जसले २१ वर्षदेखि गँैडाकोट र वरिपरिको समाजलाई सूचना, ज्ञान र प्रेरणाको सन्देश दिइरहेको छ ।

सामुदायिक वनका कार्यक्रमले गाउँलेलाई आफ्नै जङ्गल बचाउन सचेत गराएको छ । विजयले प्रसारण गरेको सन्देशकै कारण कतिपय ठाउँमा वन मास्नेलाई स्थानीयवासीले रोक्ने गरेका छन्, नयाँ पुस्ताले हरियालीको महत्व बुझ्ने गरेका छन् ।  खानेपानी र विद्यालयसँग सम्बन्धित कार्यक्रमहरूले दैनिकीमै छुनुपर्ने समस्यालाई उठाउँछन् । कतै खानेपानी योजना अधुरो छ भने रेडियोले जनताको आवाज बनेर सम्बन्धित निकायलाई खबरदार गर्छ । विद्यालयमा भइरहेका सकारात्मक अभ्यासलाई प्रचारप्रसार गरेर विद्यार्थी, अभिभावक र शिक्षकलाई थप जिम्मेवार बनाउँछ ।

महिला सशक्तिकरणका कार्यक्रम त विजय एफएमको आत्मा जस्तै छन् । यहाँका आमा–चेलीहरूले आफ्ना संघर्ष र सफलताका कथाहरू रेडियोमार्फत बाँडेका छन् । यसले महिलामा आत्मविश्वास मात्र भरेको छैन, समाजकै सोच परिवर्तन गर्न मद्दत गरेको छ । त्यस्तै, विकास र खबरदारीका कार्यक्रमहरूले जनप्रतिनिधि र निकायहरूलाई जवाफदेही बनाएका छन् । सडक, पुल, खानेपानी वा स्वास्थ्य सेवाको ढिलाइमा विजयले प्रश्न ग¥यो भने, जनताले जवाफ माग्ने हिम्मत पाउँछन् । यही कारणले धेरै ठाउँमा विकासका काम छिटो भएको अनुभव समुदायले गरेको छ ।
यी सबैकुरा विजय भित्र बसेर भन्दा साँच्चै सामान्य जस्तै लाथ्यो । अहिले राजधानी बसेर सुन्दा लाग्छ, रेडियोले साँच्चै आफ्नो धर्म निभाएको छ । कर्तव्य पुरा गरेको छ । श्रोतालाई अन्याय हुन दिएको छैन । यस्ता कुरा निकै महत्वपूर्ण हुन समाजका लागि । 

हुन त विजयले अन्य सञ्चार माध्यमले जस्तै कर्मचारी अभाव भोगीरहेको छ । जसका कारण व्यवस्थापन पक्षलाई सोचे अनुसार अगाडी बढ्न गाह्रो भएको होला ? । तर कर्मचारी र आर्थिक संकटका बीच पनि रेडियोले जुन काम गरिरहेको छ, यो आफैमा प्रशंसनीय छ । 

यो बिचमा विजय एफएमले असंख्य श्रोताको मन जितेको छ । यसले केवल गीत बजाएको छैन, खबर सुनाएको छैन । यसले भुँइ मान्छेलाई जोडेको छ, अधिकारबारे सचेत बनाएको छ, अनि गाउँघरलाई विश्वसँग जोड्ने पुल बनेको छ । समुदायका खबर पस्कदा, भ्यूजको दौडबाट पछि छ होला ? अर्थपूर्ण न्यूज प्रसारण गर्दा भीड कम होला, तर समुदायको विश्वास घटेको छैन । 

विद्यार्थीले सञ्चाल गर्ने रेडियो कार्यक्रम उज्यालो संसारका लागि विद्यार्थीहरुलाई कार्यक्रम सञ्चालन तरिका सिकाउँदै गर्दाको क्षण । 

तर बिजयलाई यतिमै सिमीत रहने छुुट भने छैन । यसले अब भविष्यका लागि दक्ष जनशक्ति उत्पादनमा जोड दिनुुपर्छ । प्रविधिको प्रयोगलाई धेरै नै बढाउन आवश्यक छ । उत्पादन भएका सामाग्री राष्ट्रिय स्तरका भएपनि प्रविधिको उचित प्रयोग नुहँदा स्थानीय स्तरमै सिमित छन् । यसमा ध्यान दिनुुपर्छ । समाचारका प्रभावलाई बढाउनुपर्छ । कर्मचारीलाई प्रविधिमैत्री बनाउन तालिम र सीप सिकाउन पनि अब रेडियोले जोड दिनुुपर्छ । पुरानै शैलीमा चलाउने कार्यक्रम र प्रश्नका शैलीहरु पनि विजयले विस्तारै सुधार गर्नुपर्ने आवश्यकताको बोध पनि यहाँबाट सुन्दा हुुने गरेको छ । 
आज म विजयलाई टाढाबाट सुन्दै छु । तर दुरीले सम्बन्ध टुट्दैन रहेछ ।  विजय मेरो जीवनको एउटा अध्याय मात्र होइन, मेरो पहिचानको हिस्सा हो । यसले मलाई पत्रकारिताको बाटो देखाएको छ, अनि अझै पनि मार्गदर्शक जस्तै लाग्छ । 

विजय एफएम २२ वर्षमा प्रवेश गरेको यो  दिनमा, मेरो एउटा मात्र कामना छ, यसले अझै धेरै पुस्ताको आवाज बनेर, धेरै वर्षसम्म समुदायलाई प्रकाश दिइरहोस् ।  

पवित्रा पराजुली हाल सिआइएन काठमाण्डौँमा कार्यरत हुनुहुन्छ ।