चितवनमा जंगली हात्ती ‘गोविन्दे’को आक्रमणबाट एक नेपाली सेना घाइते

चितवन । चितवनमा जंगली हात्ती ‘गोविन्दे’को आक्रमणबाट एक जना नेपाली सेनाका हवल्दार घाइते भएका छन् ।
चितवन राष्ट्रिय निकुञ्जको सौराहा क्षेत्र नजिकै रात्रीकालिन डिउटी सकेर फर्किदै गरेका सेनाको टोलीलाई जंगली हात्ती ‘गोविन्दे’ले आज विहान ७ बजेको समयमा आक्रमण गरेको थियो । आक्रमणमा ३८ वर्षीय सैनिक हवल्दार नन्दबहादुर सिंह घाइते भएका चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा.गणेश पन्तले जानकारी दिनुभयो । घाइते सिंहको हात र ढाडमा चोट लागेको छ । उनको अवस्था सामान्य रहेको छ ।
सौराहाबाट डेढ किलोमिटर पर रहेको मचानबाट रातिको डिउटी सकेर कछुवानी पोस्टतर्फ पैदल फर्कँदै गरेका ४ जना सैनिकसंग एक्कासी जम्काभेट हुँदा गोविन्देले आक्रमण गरेको थियो । सेनाले हवाई फायर गरेपछि हात्ती भागेको थियो ।