नदीसँगै हामी अभियानका अभियन्ताको चिन्तन  : “नदी जोगाउन प्लाष्टिक रोकौँ”

२०८२ श्रावण १४ बुधबार १५:१०:०० मा प्रकाशित


नवलपरासी पूर्व । नदीसँगै हामी अभियानका अभियानकर्मी तथा सरोकारवाला संघसंस्थाले नदीको अस्तित्वका लागि प्लाष्टिकजन्य फाहोर व्यवस्थापन अति आवश्यक पक्ष रहेको बताएका छन् । अभियान नै सञ्चालन गरी १३ बढी संघसंस्थालाई आवद्ध गराई गैँडाकोटमा रहेको सहमति संस्थाले नदी संरक्षणको लागि नदीसँगै हामी अभियान अघि बढाइरहेको छ । यस अभियान अन्तर्गत १३ बढी रिभर च्याम्पीयन्स र संघसंस्था ले चितवन तथा नवलपुरका विभिन्न नदी तटिय क्षेत्रमा विभिन्न सचेतनामूलक कार्यक्रम गरिरहेका छन् । तिनै अभियानका गतिविधि, कार्यसम्पादनका विषय र आगामी योजनाका विषयमा बुधबार सहमति संस्थाले गरेको  कार्यक्रममा अद्यावधिक तथा सुझाब प्रस्तुत गरेका छन् ।  


देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले देवघाट क्षेत्रलाई प्लाष्टिमुक्त क्षेत्र बनाउन विभिन्न पहल भइरहेको बताउनुभयो । देवघाट क्षेत्रलाई प्लाष्टिकमुक्त क्षेत्र बनाउन सहमति संस्थाको तर्फबाट भइरहेको सहयोगले सकारात्मक प्रभाव पारिरहेको बताउनुभयो ।  देवघाट धाममा सहमतिले प्रदान गरेको कपडाको झोलाको प्रयोग, फाहोर न्यूनिकरण र नदीको संरक्षणका लागि होर्डिङ बोर्ड, सन्देशमूलक श्रव्यसामग्री लगायते सकारात्मक प्रभाव सिर्जना गरेको बताउनुभयो । 


वेटर चितवनका संस्थापक सागर कार्कीले नारायणी नदी (भरतपुरतर्फ) को फोहोरजन्य वस्तुको स्थलगत अध्ययनका बारेमा जानकारी दिदै प्लाष्टिकजन्य वस्तु नारायणी नदीका लागि चुनौतीपूर्ण रहेको बताउनुभयो । 


गैँडाकोट जेसिजका अध्यक्ष हरि पौडेल, लायन्स क्लब गैँडाकोट मौलाकालीका अध्यक्ष जनक पौडेल, रोटरी क्लबका प्रतिनिधि तथा साहित्यकार इन्द्रराज पौडेल लगायतले नारायणी नदी संरक्षण र फोहोरमैला व्यवस्थापनमा तत्कालको व्यवस्थापनका लागि अभियानहरु र दीर्घकालिन समस्या समाधानका लागि नीतिगत तहको सुधारका लागि अघि बढ्न सुझाब दिनुभएको छ । 


प्रकृति प्रदर्शक लक्ष्मी महत्तो, रिभर च्याम्पियन चन्द्र महत्तो, उषा महत्तो, सम्झना दराई, एसडीआरसी प्रतिनिधि परमानन्द चालिसे, अभियन्ता बसन्त राना, स्थानीय महादेवी बस्ताकोटी, रुपामाया रानाले नागरिकको सचेतनाको स्तर नबढाएसम्म फोहोरमैला व्यवस्थापनको जीत हासिल गर्न नसकिने बताउनुभएको छ ।

उहाँहरुले आफ्नो आफ्नो क्षेत्रबाट नदी संरक्षणका लागि विभिन्न सचेतना मूलक तथा सरसफाई मूलक अभियान सञ्चालन समेत गरिरहेको बताउनुभएको छ । उहाँहरुले नवलपुरका दाहसंस्कार स्थलहरुमा पनि भोलीका दिनमा फोहोर व्यवस्थापन चुनौती देखिन सक्ने हुनाले अहिले देखिनै सचेतना मूलक गतिविधि अघि बढाउन आवश्यक रहेको बताउनुभयो ।

सामुदायिक रेडियो विजय एफएम १०१.६ का स्टेशन म्यानेजर श्रीधर उपाध्यायले नदीको फोहोरमैला व्यवस्थापनको दीगो समाधानका लागि विद्यालयका बालबालिका केन्द्रीत योजना अघि बढाउन सुझाब दिनुभएको छ । 


सहमतिले डब्लु डब्लु एफ नेपाल संगको सहकार्यमा प्रकृतिमा आधारित सवालहरुका समाधान परियोजना चितवन जिल्लाको खगेरी जलाधार क्षेत्रमा र नवलपुर जिल्लाको गिन्द्री जलाधार क्षेत्रमा कार्यान्वयनमा आइरहेको छ । यस परियोजनाले समुदायको समुन्नति र समृद्ध जैविक विविधतालाई संरक्षण गर्दै जलवायु उत्थानशिल र स्वस्थ नारायणी निर्माणमा योगदान पु¥याउने लक्ष्य राखेको सहमतिका अध्यक्ष होमनाथ सुवेदीले बताउनुभयो ।


नारायणी नदी अभियानका विभिन्न गतिविधिले नीतिगत तहमा पनि सुधार आइरहेको सहमतिको प्रकृतिमा आधारित सवालहरुका समाधान परियोजनाका संयोजक खेमराज खनालले बताउनुभयो । भरतपुर महानगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा नै नदी संरक्षणको लागि नीति तथा कार्यक्रम बनाएको छ ।

देवघाट क्षेत्रको फोहोर व्यवस्थापनका लागि कार्यक्रम र बजेट पनि यसै आर्थिक वर्षमा राखेको पाइएको संयोजक खनालले बताउनुभयो । भरतपुर तर्फबाट फोहोरको अवस्थाका विषयमा अध्ययन गरि समाधानका लागि अघि बढ्न सुझाब सहितको अध्ययन सामग्री सहमतिसँग सहकार्य गरिरहेको बेटर चितवनले महानगरपालिकामा यस अघि पेश गरेको थियो ।