तुइन चुँडिदा महाकालीमा खसेर एकजना बेपत्ता

२०८२ असार ३१ मंगलबार १५:५३:०० मा प्रकाशित

खलङ्गा (दार्चुला)। तुइन चुँडिदा महाकाली नदीमा खसेर एकजना बेपत्ता भएका छन् । व्याँस गाउँपालिका-२ दुम्लिङस्थित तुइनबाट आज महाकाली नदीमा खसेर स्थानीय २८ वर्षीय नारायण बुढाथोकी बेपत्ता भएका हुन् । दिउँसो १२ बजे दुम्लिङबाट महाकाली तरेर भारततर्फ जानेक्रममा बुढाथोकी तुइन चुँडिदा नदिमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक छत्रबहादुर रावतले जानकारी दिनुभयो ।


नारायणसँगै स्थानीय २६ वर्षीय जितु बिष्ट र ४५ वर्षीय जयदु बुढाथोकी पनि तुइनमार्फत महाकाली नदी पार गर्न गएका थिए । नारायणभन्दा अघि जितुले तुइनमार्फत महाकाली नदी सकुशल पार गरी भारतर्फ गएका थिए । त्यसपछि महाकाली पार गर्ने क्रममा नारायण नदीको बीच भागमा पुगेपछि तुइन चुँडिदा बेपत्ता भएको प्रहरीले जनाएको छ ।

उक्त घट्नापछि जितु र नारायणसँगै गएका जयदुले तुइन चढ्ने प्रयास नै गरेनन् । बेपत्ता भएका नारायणको स्थानीयवासी र प्रहरीले खोजी गरिरहेको प्रहरी निरीक्षक रावतले बताउनुभयो । रासस