साहित्य जीवन जल, सातु र उज्यालो जस्तै हुनुपर्ने विश्लेषक एवं शिक्षासेवी रिमालको भनाई

पठन संस्कृति अभियानको १५औं श्रृङखला सम्पन्न

२०८२ असार २८ शनिबार १८:५८:०० मा प्रकाशित

गैँडाकोट । साहित्य जीवन जल, सातु र उज्यालो जस्तै हुनुपर्ने विश्लेषक एवं शिक्षासेवी प्रेम रिमालले बताउनुभएको छ। पठन संस्कृति अभियानको १५औं श्रृङखलाका प्रमुख अतिथि रिमालले पठन संस्कृतिका लागि यो अभियान आवश्यक भएको बताउनुभएको हो। उहाँले साहित्यले व्यक्तिलाई निखार्ने र बुझ्ने हुनाले पनि पढ्ने बानी आवश्यक भएको बताउनुभयो । उहाँले साहित्य जीवन जल, सातु र उज्यालो जस्तै भएमा पढ्ने पाठकलाई पनि त्यसले केही सहयोग गर्ने बताउनुभएको छ। लेखकले गलत लेखेमा संसार बर्बाद हुने हुनाले लेखकले लेख्दा विचार पु¥याउनुपर्ने र संस्कृति प्रस्तुत गर्नुपर्ने बताउनुभएको छ। उहाँले सिकाउने माध्यम हरेक कुराको ज्ञान दिने माध्यम नै पठन संस्कृति रहेको पनि बताउनुभएको हो। 

पत्रु खानाले जस्तै पत्रु साहित्यले पनि व्यक्ति र समाजलाई असर गर्ने हुनाले पत्रु खाना जस्तै पत्रु साहित्यलाई पनि बहिष्कार गर्ने अभियान चलाउनुपर्ने विश्लेषक एवं शिक्षासेवी प्रेम रिमालले बताउनुभएको छ। उहाँले साहित्य पढेर जीवन लम्बाउन सकिन,े विषमतालाई समानतामा ल्याउन सकिने, हार्दिकतालाई बढाउन सकिने किसिमको हुनुपर्ने बताउनुभएको हो। साहित्य कला संगीतमा साधना हुनुपर्ने र साधना भएमा जीवन्त हुने र नभएमा त्यसले क्षणिक तिर्सना मात्रै मेट्ने बताउनुभएको छ। उहाँले पठन संस्कृति आफ्नो अभियान पनि भएकाले हरेक व्यक्तिले पढ्ने बानीलाई बढाउनुपर्ने बताउनुभएको छ । उहाँले आफू , समाज व्यक्ति बुझ्न पनि पढ्ने बानी आवश्यक रहेको बताउनुभयो। पढ्ने बानीले घटनालाई बुझ्न परिस्थितिलाई चिन्न सकिने पनि उहाँको भनाइ रहेको छ । उहाँले अध्ययनबाट मात्र सामर्थ र शक्तिलाई चिन्न सकिने बताउनुभयो । हिजो आज साहित्य अश्लिल र जथाभावी लेखनले पाठकमाथि अन्याय भएको पनि उहाँले बताउनुभएको छ। लेखकले पाठकलाई अन्याय नहुने गरी सिर्जना गर्नुपर्ने पनि उहाँको माग रहेको छ।

हरेक महिनाको अन्तिम शनिबार हुने पठन संस्कृति अभियानको आजको श्रृंखला विजय विकास स्रोत केन्द्रको सभाहलमा भएको थियो। सो कार्यक्रममा आठ जनाले पाठकीय अनुभूति राख्नुभएको थियो। कार्यक्रमको सुरुवातमा अधिवक्ता रमेश काफ्ले प्रस्तुत हुनुभयो। उहाँले सीके राउतको पुस्तक वैरागदेखि बचावसम्मका बारेमा टिप्पणी राख्नुभएको थियो । उहाँले मधेसले पहाडलाई हेर्ने दृष्टिकोण हेपाहा भएको पुस्तकमा उल्लेख गरिएको बताउनुभएको छ यस्तै गरेर पुस्तकमा मधेस आन्दोलनको सकारात्मक पाटो भने कम रहेको पनि उहाँले बताउनुभयो।

यस्तै गरेर मेनका चापागाईले केशवप्रसाद कडेलको जीवन यात्रा आत्म कथाको टिप्पणी प्रस्तुत गर्नुभएको थियो। लामो समयसम्म शिक्षा सेवामा समर्पित कडेलको शैक्षिक अनुभूतिबाट केही सिक्न सक्ने पनि बताउनु भएको थियो । 

यस्तै अस्मिता खनालले युवा नोहा हरारीको स्यापिएन्स पुस्तकको बारेमा टिप्पणी राख्दै किताबमा मानव सभ्यतादेखि कृत्रिम बुद्धिमत्ताका बारेमा लेखकले रोचक ढङ्गले प्रस्तुत गरेको बताउनुभएको थियो। 

यस्तै सृजन कँडेलले वसन्त पराजुलीको मोम्चो कथा संग्रहको चर्चा गर्दै उहाँले सो पुस्तकमा महिलाको चित्रण र चेपाङ समुदायको चित्रण गरिएको बताउनुभएको थियो। उहाँ कक्षा १०मा अध्ययनरत विद्यार्थी हुनुहुन्छ। 

बेलबहादुर दराईले एलबी क्षेत्रीको नियात्रा संग्रह अमेरिकामा ४३ दिन किताबको टिप्पणी राख्नुभएको थियो। उहाँले अमेरिकामा एलबी क्षेत्रीले ४३ दिनको भ्रमणलाई संस्मरणका रूपमा किताबमा समेटेको बताउनुभएको थियो ।

त्यस्तै पत्रकार प्रेमप्रसाद कँडेलले तसलीमा नसरिनको बिग्रेकी केटी उपन्यासको टिप्पणी राख्नुभएको थियो। उहाँले मुस्लिम समुदायमा महिलाहरूको पढाइ सँगसँगै अन्य क्रियाकलापमा सकारात्मक पहुँच नभएको विषय यस पुस्तकले उठान गरेको बताउनुभएको छ । 
यस्तै शंकर आचार्यले अमर न्यौपानेको पानीको घाम किताबको टिप्पणी राख्नुभएको थियो।

त्यस्तै विजय विकास स्रोत केन्द्रका कार्यकारी निर्देशक दीप नारायण सापकोटाले डाक्टर जीवन क्षेत्रीको पुस्तक नुन तेलको टिप्पणी सुनाउनुभएको थियो। उहाँले यातायातको विकास नहुँदा जुन पैदल यात्रा गरेर नुन बोक्ने प्रङ्ग पुस्तकमा प्रस्तुत गरेको बताउनु भएको थियो । यो पुस्तक हरेकले पढ्नुपर्ने पनि उहाँको भनाइ रहेको थियो । उहाँले जलवायु परिवर्तनका बारेमा पहाडको बसाईसराई रहनसहनका बारेमा पनि पुस्तकले धेरै कुरा बोलेको बताउनुभएको थियो।

यस्तै गरेर विजय विकास स्रोत केन्द्रका अध्यक्ष कृष्णप्रसाद सापकोटाले विवेक रामकुमारको पुस्तक हाम्रो पैसा हाम्रो जिम्मेवारी पुस्तकको विषयमा टिप्पणी व्यक्त गर्नुभएको थियो। सामुदायिक रेडियो विजय एफएमको आयोजनामा भइरहेको पठन संस्कृति अभियानले समुदायमा पठन संस्कृतिको विकास गराउन मद्दत गरेको विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्थाका अध्यक्ष त्रिलोचन सापकोटाले बताउनुभएको छ। २०८१ साल वैशाख १५ गतेबाट पठन संस्कृति अभियान सुरु भएको थियो र हरेक महिनाको अन्तिम शनिबार यो कार्यक्रम विजय विकास स्रोत केन्द्रको सभाहलमा हुँदै आइरहेको छ। यस कार्यक्रममा पढ्नका लागि उत्प्रेरित गर्ने पढ्नका लागि पुस्तक फिर्ता गर्ने गरेर उपलब्ध गराउने, छलफल गर्ने र आफूले पढेका पुस्तकका बारेमा आफूलाई लागेको कुरा सँगसँगै आफ्ना नयाँ अनुभवहरू पनि साटासाट गर्ने गरिन्छ