गैँडाकोटमा सामाजिक विषय कार्यशाला सम्पन्न ,आठ बुँदे प्रतिवद्धता जारी

जेठ २४, गैँडाकाेट / शिक्षा, युवा तथा खेलकुद शाखा गैँडाकोट नगरपालिका र सामाजिक विषयगत समूह गैँडाकोटको आयोजनामा सञ्चालित सामाजिक विषयको विषयगत तालिम तथा प्रश्नपत्र निर्माण कार्यशाला आठ बुँदे प्रतिवद्धता जारी गर्दै शनिबार सम्पन्न भएको छ ।
विद्यार्थीलाई उत्प्रेरित गराइ कक्षा व्यवस्थापनलाई व्यवस्थित गर्ने, फरक क्षमताको सम्बोधन हुने गरि विषयवस्तु प्रस्तुत गर्ने , योजना पुस्तिका अनुसार सिकाइ क्रियाकलाप सञ्चालन गर्ने, सिकाइ क्रियाकलापको अभिलेख गरी मल्याङ्कनलाई व्यवस्थित गर्ने, सिकाइ सम्बद्ध समस्या विषय समितिको सक्रियतामा समाधान गर्ने, दिगो सिकाइका लागि अन्तरक्रियात्मक शिक्षण विधि अपनाउने, म विद्यार्थीका लागि विद्यार्थी राष्ट्र लागि भन्ने अभियानलाई आत्मसात् गर्ने , मेरो पेशागत विकास म आफैँ र आजैबाट गर्छु जस्ता प्रतिवद्धता सामजिक विषय शिक्षकहरुले गरेका छन् । कार्यशालामा कक्षा ४ देखि १० सम्मका प्रश्नपत्र र उत्तरकुञ्जिका निर्माण गरी सहभागीहरु बिच प्रश्नपत्रका बारेमा समिक्षात्मक छलफल समेत भएको थियो ।
समापन कार्यक्रममा नगर शिक्षा अधिकारी डा. बालकृष्ण चापागाईँले परिवर्तन आँफैबाट शुरु गर्न र प्रतिवद्धता कार्यान्वयन गर्नुहुन अनुरोध गर्नुभयो । उहाँले पाठ्यक्रमलाई प्रमुख हतियार बनाएर सो अनुसार आफ्नो शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्न अनुरोध गर्नुभयो । शिक्षा अधिकृत रामप्रसाद अधिकारीले कार्यशालाबाट सिकेका विषयवस्तु कक्षाकोठा सम्म पुर्याउने वातावरण निर्माण गर्न अनुरोध गर्नुभयो ।
सहजकर्ता खिमानन्द सापकोटालेसमुदाय ,जातजाती, फरक क्षमताका आधारमा सिकाउन सकिएन भनेर बालबालिकालाई दोष दिने बानी नगर्न अनुरोध गर्नुभयो। बालबालिकाको क्षमता निखार ल्याउने शिक्षकको कर्तव्य हो । तसर्थ आफ्नो कर्तव्य हामीले विर्सन नहुने कुरा व्यक्त गर्नुभयो । समापन कार्यक्रममा सम्पूर्ण सहभागीको प्रतिनिधित्व गर्दै नारायणी माध्यमिक विद्यालयका प्रधानाध्यापक मिलन श्रेष्ठ र रत्नराज्य लक्ष्मी मा.विका सामजिक शिक्षक योगेन्द्र ढुंगानाले आठ बुँदे प्रतिवद्धता पूर्ण रुपमा पालन गर्ने कुरा व्यक्त गर्नुभयो ।
कार्यक्रममा सामाजिक विषय समितिका संयोजक टिकाराम सुवेदी, जगन्नाथ उपाध्याय, डिल्लीराज आचार्य, बलराम रानाभाट, कृष्णप्रसाद खरेल, जानुका शर्मा र दयाराम पौडेल लगायत गैँडाकोट नगर भित्रका ६० जना समाजिक शिक्षकहरुको सक्रिय सहभागीता रहेको थियो ।
समूहका सदस्य बलाराम रानाभाटले संयोजन तथा सहजीकरण गर्नुभएको सो कार्यक्रम संयोजक टिकाराम सुवेदीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
शुक्रबार र शनिबार सञ्चालित कार्यशालामा सामाजिक विषय शिक्षण सिकाइमा देखिएका समस्यामा आधारित भएर विषयवस्तुमा आधारित भई पाठ्यक्रम विकास केन्द्रका रोष्टर प्रशिक्षक एवं नारायणी नमुना माध्यमिक विद्यालय भरतपुरका सामाजिक शिक्षक खिमानन्द सापकोटाले सहजीकरण गर्नुभएको थियो ।
यस अघि शुक्रबार सामाजिक विषयगत समूह सदस्य जगन्नाथ उपाध्यायले सामाजिक विषय समूहको पहलमा सामाजिक विषय शिक्षणमा भएका असल अभ्यासहरुका बारेमा र समूह सदस्य डिल्लीराज आचार्यले सामाजिक शिक्षण गर्दा आगामी दिनमा सुधार गर्नुपर्ने विषय र समूहका भावी कार्यक्रमका बारेमा जानकारी गराउनुभएको थियो ।
मिति २०८२ जेठ २३ र २४ गते सञ्चालित सामाजिक विषयको समस्यामा आधारित तालिम एबम् प्रश्नपत्र निर्माण कार्याशालाद्वारा जारी साझा प्रतिबद्दता
- विद्यार्थीलाई उत्प्रेरित गराइ कक्षा व्यवस्थापनलाइ महत्व दिने छौ ।
- फरक क्षमताको सम्बोधन हुने गरि विषयवस्तु प्रस्तुत गर्ने छौ ।
- योजना पुस्तिका अनुसार सिकाइ क्रियाकलाप सञ्चालन गर्ने छौ ।
- सिकाइ क्रियाकलापको अभिलेख गरी मूल्याङ्कनलाई व्यवस्थित गर्ने छौ ।
- सिकाइ सम्बद्द समस्या विषय समितिको सक्रियतामा समाधान गर्ने छौ ।
- दिगो सिकाइका लागि अन्तरक्रियात्मक शिक्षण विधि अपनाउने छौ ।
- म विद्यार्थीका लागि विद्यार्थी राष्ट्रका लागि भन्ने अभियानलाइ आत्मसात् गर्ने छौ ।
- मेरो पेशागत विकास म आफैँ र आजैबाट गर्छु ।