रत्ननगरको कयरखोला नजिक गुडिरहेको बसमा आगलागी, बस पूर्णरूपमा क्षतिग्रस्त

चितवन । चितवनको रत्ननगर नगरपालिका-१६ कयरखोलास्थित भित्री सडक खण्डमा गए राति एक गुडिरहेको बसमा अचानक आगलागी भएको छ। पर्साबाट पिठुवातर्फ आउँदै गरेको बा.प्र.०६-००१ ख ०१८८ नम्बरको बसमा शुक्रबार राति १०ः४५ बजे तिर आगलागी भएको हो । घटनामा मानवीय क्षति नभए पनि बस पूर्णरूपमा क्षतिग्रस्त भएको छ।
बसमा आगलागी के कारणले लाग्यो भन्नेबारे हालसम्म केही सत्यतथ्य प्राप्त नभएको र आगलागीबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट पिठुवाबाट प्रहरी निरीक्षक तारकेश्वर राईको नेतृत्वमा टोली खटिएको थियो। स्थानीय बासिन्दा, नेपाल प्रहरी तथा खैरहनी नगरपालिकाको दमकलको सहयोगमा आगो ११ः०५ बजे नियन्त्रणमा ल्याइएको प्रहरीले जानकारी दिएको छ।