शिक्षक आन्दोलनको बैठान आज दिउँसोको बार्तामा निर्भर

काठमाडौँ । सरकार र शिक्षकहरूबीच आज (बुधबार) पनि वार्ता हुने भएको छ । सुरूमा आन्दोलनरत पक्ष आन्तरिक बैठक बसेर सरकारसँग वार्तामा बस्नेछ । शिक्षकको आन्तरिक बैठक बिहान ९ बजेका लागि बोलाइएको छ । आन्तरिक बैठकपछि दिउँसो २ बजे सरकार र शिक्षकबीच वार्ता हुनेछ । उक्त बैठकमा सहमति हुने दाबी गरिएको छ ।
शिक्षक महासंघले जारी राखेको सडक प्रदर्शन सरकारले गर्ने निर्णयमा भर पर्ने भएको छ । चैत २० देखि सुरु भएको प्रदर्शनमा महासंघले विद्यालय शिक्षा विधेयकमा समेटिने बाहेक मन्त्रिपरिषद्ले निर्णय गर्नु पर्ने अडान आजसम्म पनि कायमै राखेका छन् ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा मंगलबार राती भएको तीन मन्त्री सहितको वार्तामा महासंघ टोलीले पुरानै अडान दोहो¥याएका हुन् । मंगलबारको वार्ता भने उपप्रधानमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक र शिक्षा मन्त्री रघुजी पन्तसमेत सहभागी थिए । उनीहरूले शिक्षक महासंघले उठाएका मागको बारेमा मन्त्रिपरिषद्को बैठकले निर्णय गर्ने आश्वासन दिएको स्रोतले जनाएको छ । शिक्षामन्त्री रघुजी पन्तले महासंघले उठाएका माग पुरा गर्न भएको वार्ता पनि सकारात्मक रहेको बताउनुभएको छ
।
आन्दोलन परिचालन समितिका संयोजक तथा महासंघ सह अध्यक्ष नानुमाया पराजुलीले केही कुराहरुमा छलफल भएको छ, छलफलमा भएका कुरा मन्त्रीपरिषद् बैठकले पास गरेपछि सार्वजनिक हुने बताउनुभएको छ । साथै कक्षा १२ को परीक्षा प्रति आफूहरु संवेदनशील रहेको हुँदा समयमै हुने समेत पराजुलीले बताउनुभयो ।
तीन मन्त्री र महासंघ बिच भएको वार्ताले मन्त्रिपरिषद्मा पेस गर्ने प्रस्तावको बारेमा छलफल भएको थियो । छलफलमा शिक्षकले उठाएका विषय सम्बोधन हुने संकेत पाए पछि महासंघले पनि आन्दोलनको स्वरूप परिवर्तन तयारी गरेको महासंघ महासचिव तुलाबहादुर थापाले बताउनुभएको छ ।
महासंघको मंगलबार दिनभर बसेको बैठकले पनि सरकारले मन्त्रिपरिषद्बाट पूरा गर्न सक्ने आफ्ना माग सम्बोधन गरेमा आन्दोलनको स्वरूप परिवर्तन गर्ने निर्णय गरिसकेको छ । विद्यालय शिक्षा विधेयक जारी नभएसम्म आन्दोलनका कार्यक्रम यथावत् राखेर नियमित कक्षा र १२ को परीक्षा चलाउने गरी नयाँ कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको छ ।
२८ दिन देखि आन्दोलनरत शिक्षकले विद्यालय शिक्षा विधेयक चाँडो पारित हुनु पर्ने देखावटी रूपमा उठाए पनि सरकारबाट मर्यादाक्रममा शिक्षकलाई समेटिनु पर्ने, निजामती सरह ग्रेड समायोजन, विद्यालय कर्मचारी र ईसीडीका शिक्षकको तलब, सामाजिक सुरक्षा कोष, दुर्गम भत्ता, राहत शिक्षकको बिदाको पैसा, शिक्षकको उपचारमा छुटको व्यवस्था, तलबमा समानता बनाउने विषयमा मन्त्रिपरिषद्बाट निर्णय खोजेका हुन् ।