गैंडाकोटको आयोजनामा रोटीका परिकार बनाउने सीप विकास तालिम

गैंडाकोट, वैशाख १५ – आर्थिक समृद्धिको आधार, लघु उद्यममार्फत रोजगार अभियान अन्तर्गत गैंडाकोट नगरपालिकाले गैँडाकोट ११ मा सञ्चालन गरेको १५ दिने रोटीका परिकार बनाउने सीप विकास तालिम आज सम्पन्न भएको छ।
तालिममा नगर उपप्रमुख शान्ति कोइरालाले महिलाहरूलाई आत्मनिर्भर र आर्थिक रूपमा सक्षम बनाउन सीप विकास अनिवार्य रहेको बताउँदै, सिकेको सीपलाई व्यावहारिक जीवनमा उतारेर साना उद्यम सुरु गर्न सहभागीहरूलाई प्रेरणा दिनुभयो। उहाँले उद्यमशील महिलालाई नगरपालिका मार्फत सक्दो आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराइने जानकारी दिनुभयो।
वडा सदस्य मोतिकुमारी खड्काको अध्यक्षतामा भएको कार्यक्रममा आर्थिक विकास शाखा प्रमुख देवेन्द्र गौतम, वडाका सदस्यहरू गुरु प्रसाद पौडेल र कुमारी नेपाली, स्वबालम्बन महिला सहकारी संस्थाकी उपाध्यक्ष कृष्णकुमारी न्यौपानेले कार्यक्रम राम्रो रहेको र उत्साहजनक सहभागिता भएकाले सिपलाई व्यवसायिक बनाउन आग्रह गर्नुभयो ।
तालिम प्रशिक्षक पार्वती श्रेष्ठले १२ प्रकारका रोटी परिकार र च्याउ तथा मासुको अचार बनाउने तरिका सिकाउनुभयो । १५ दिनसम्म चलेको तालिममा २० जना बढी महिला दिदीबहिनीहरूको सक्रिय सहभागिता रहेको थियो।
रोजगार संयोजक तारा उपाध्यायले तालिमको सहजीकरण गर्नुभएको थियो । सहभागीहरूले तालिम अत्यन्त उपयोगी भएको जनाउँदै भविष्यमा लघु उद्यम सञ्चालन गर्ने लक्ष्य लिएका छन्। त्यस्तै, वडाबाट निशुल्क व्यवसाय दर्ता तथा बजारीकरणमा समेत आवश्यक सहयोग गरिने जनाइएको छ।