बलेरो आगलागीः निधन भएका र घाइतेको पहिचान

२०८२ बैशाख ८ सोमबार १२:००:०० मा प्रकाशित

ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङ्लिङबाट पाथीभरा मन्दिर दर्शनका लागि गइरहेको बलेरो गाडीमा आगलागीमा परेर निधन भएका चार जना यात्रु तथा दुईजना घाइतेको पहिचान भएको छ ।


जिल्ला प्रहरी कार्यालयको अनुसार मे १ च ३०११ नम्बरको बलेरो गाडीमा फुङ्लिङ नगरपालिका–१० सेवारोचोकमा एक्कासि आगलागी भएको थियो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विवेक बस्नेतका अनुसार मृत्यु हुनेमा ललितपुर महानगरपालिका-१० का १६ वर्षीया आध्या आचार्य, भद्रपुर नगरपालिका-१५ का ७० वर्षीय विनोद पौडेल, पौडेलकै श्रीमती ६९ वर्षीय सरिता पौडेल र सवारी चालक ताप्लेजुङ फुङलिङ नगरपालिका-१० का ४२ वर्षीय दुर्गा भट्टराई रहेका छन् ।


त्यस्तै, ललितपुर-१० का ४५ वर्षीया सविना आचार्य, उहाँका १० वर्षीय छोरा भविमय आचार्य घाइते हुनुभएको छ । उहाँहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । आज बिहान करिब ५ः०० बजे विद्युत्को पोलबाट चुँडिएको तार सडकमा झरेको र उक्त तारमा बलेरो गाडी अल्झिँदा अचानक आगो लागेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।

सूचना अधिकारी बस्नेतका अनुसार आगलागीको जानकारी प्राप्त हुनासाथ प्रहरी निरीक्षक रवि रावलको कमाण्डमा १५ जनाको टोली तत्काल घटनास्थलमा पुगेको थियो । रासस