बौदीकालीको ववकमा पुग्यो बिजुली, बिजुली पुगेसँगै स्थानीय खुशी

नवलपुर । नवलपुरको पहाडी गाउँपालिका बौदीकाली-५, ववकमा बिजुली पुगेको छ । तार पोल गाडेको लामो समय पछि गाउँमा बिजुली पुगेको हो । जिल्लामा सुन्तला खेतिका लागि प्रसिद्धि कमाएको यहाँ पहिलो पटक बिजुली पुग्दा यहाँका बासिन्दा खुसी भएका छन् ।
यतिका समय अन्धकारमा बस्दै आएकोमा अब भने गाउँ नै उज्यालो हुने बौदीकाली-५, ववकका स्थानीय गेष बहादुर रानाले बताउनुभयो । तार पोल गाडेको लामो समयसम्म बिजुली नआउँदा निराश बनेका बासिन्दा बिजुली पुगेसँगै खुसी भएको रानाले बताउनुभयो ।
बौदीकाली गाउँपालिका-५, ववक अन्तरगत यहाँका अर्खलाथर, चितौरेथर ,लुंगेलीथर, बोझाजी, हर्वले , बेसारडाँडाका करिब दुई सय घर विद्युत् सेवाबाट लाभान्वित हुनेछन् । विद्युत् नपुग्दा अहिलेको समयमा समेत टुकीको भरमा बस्नुपर्ने बाध्यता अब अन्त्य भएको स्थानीय रानाले बताउनुभयो । ‘ हामी बिजुलीको प्रतीक्षामा धेरै समय बस्नु प¥यो, केही समय पहिला तार पोल गाडियो , त्यही तार पोल हेरेर बस्दा अझै कति कुर्नुपर्ने होला भन्ने थियो, तर बल्ल बिजुली बल्यो’ रानाले भन्नुभयो । विधुत पुगेसँगै सुविधासँगै विकासका अन्य सम्भावनाका ढोका खुल्ने अपेक्षा गरेको उहाँले बताउनुभयो । अहिले विद्युत मिटर जडानका लागि आवेदन दिएका घरहरुमा मिटर जडानको काम क्रमश भइरहेको उहाँले बताउनुभयो ।
उज्यालो बौदीकाली कार्यक्रम अन्तरगत ववकमा बिजुली बालिएको बौदीकाली गाउँपालिका अध्यक्ष प्रकाश ओझाले बताउनुभयो । पालिकाले उज्यालो बौदीकाली कार्यक्रम मार्फत सर्भिस केवलमा लागत साझेदारी र मिटर बक्समा शतप्रतिशत अनुदान उपलब्ध गराएको अध्यक्ष ओझाले बताउनुभयो । ‘हामीले अहिलेको समयमा समेत पालिकाका बासिन्दा अन्धकारमा बस्नुपर्ने बाध्यता हटाउनुपर्छ भन्ने दृढताका साथ लाग्यौँ , यसका लागि पालिका आफैले विद्युतिकरणका लागि बजेट समेत विनियोजन ग¥यौँ र अहिले ववकमा बिजुली बाल्न सफल भएका छौँ’ गाउँपालिका अध्यक्ष ओझाले भन्नुभयो ।
गाउँपालिका भित्रका चार वटा वडामा विद्युत् नपुगेको अवस्थामा वडा नम्बर ३ र ४ मा यस अघि विद्युतिकरण गरिएको अध्यक्ष ओझाले बताउनुभयो । अहिले वडा नम्बर -५, ववकमा विद्युतिकरण भएको र वडा नम्बर-६, नरममा समेत छिट्टै विद्युत् पु¥याइन अध्यक्ष ओझाले बताउनुभयो । पालिका भित्रका सबै क्षेत्रमा चाँडै बिजुली बालेर उज्यालो बौदीकाली कार्यक्रमलाई सफल बनाउने अध्यक्ष ओझाले बताउनुभयो ।
बुलिङटारको बोझा पोखरीमा विद्युत् शवस्टेशन निर्माण भएपछि जिल्लाको पहाडी क्षेत्रमा विद्युतिकरणमा सहजता भएको हो । उक्त शव स्टेसन नहुँदा कालिगण्डकी नदी छेउका केही बस्तीमा तनहुँतर्फबाट विद्युत् ल्याएर बालिएको थियो । ववकमा बोझा पोखरी विद्युत् शवस्टेशनबाट लाइन वितरण गरिएको हो । अहिले अन्य क्षेत्रमा समेत यसै शवस्टेशनबाट विद्युत् विस्तारको काम भएको छ ।