विमानको इन्जिनमा आगो लाग्यो, अवतरणका क्रममा एउटा पाङ्ग्रा भाँचियो

२०८२ बैशाख ५ शुक्रबार १४:५०:०० मा प्रकाशित

काठमाडौँ । अमेरिकामा एउटा विमान उडिरहेको समयमा इन्जिनमा आगलागी भएको र अवतरण गर्न लाग्दा एउटा पाङ्ग्रा नै भाँचिए पनि यात्री सकुसल रहेको तथ्य प्रकाशनमा आएको छ ।


ओरल्यान्डोबाट सान जुआनका लागि उडान गरिरहेको फ्रन्टियर एयरलाइन्सको विमानमा १५ अप्रिलका दिन यस्तो घटना भएको हो ।


विमानमा २२८ यात्री सवार थिए । सोही विमानमा सवार मेलानी गोन्जालेज ह्वार्टनले आफ्नो फेसबुकमा उक्त घटनासम्बन्धी तस्बिर पोस्ट गरेकी छन् । उनी परिवारसँग बिदा मनाएर फर्किंदै गर्दा उक्त घटना भएको हो ।


मेलानीका अनुसार विमानको इन्जिनमा आगो लागेको देखेपछि यो धर्तीमा आफ्नो जीवन यतिमात्र रहेछ भन्ने लागेको थियो । विमानको झ्यालबाट बाहिरको दृश्य पनि उनले तस्बिरमा कैद गरेकी छन्, जहाँ विमानमा आगो लागेको देखिन्छ ।

 

अवतरणको पहिलो प्रयासका क्रममा एउटा पाङ्ग्रा भाँचिएको थियो । त्यसपछि विमान फेरि उड्यो । दोस्रो प्रयासमा बल्ल विमान अवतरण भएको बताइएको छ ।

 

यस क्रममा यात्रीको अवस्था सामान्य रहेको सञ्चारमाध्यमहरूले जनाएका छन् । एजेन्सी