इच्छाकामना गाउँपालिका प्रशासकीय भवनको उद्घाटनः राजनीतिक स्थायित्वका पक्षमा वर्तमान सरकार- प्रधानमन्त्री ओली

२०८२ बैशाख ५ शुक्रबार १६:४५:०० मा प्रकाशित

मुग्लिन (चितवन) । प्रधानमन्त्री केपी शर्मा ओलीले इच्छाकामना गाउँपालिकाको प्रशासकीय भवनको आज यहाँ एक समारोहकाबीच उद्घाटन गर्नुभएको छ । चितवन जिल्लाको एकमात्र गाउँपालिका इच्छाकामनाको प्रशासकीय भवन रु ३० करोड ९० लाखमा निर्माण भएको हो ।

 

प्रधानमन्त्री ओलीले पालिकाको भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै सुशासन, विकास, समृद्धि र राजनीतिक स्थायित्वसहित देश र जनताका पक्षमा सरकार अहोरात्र क्रियाशील रहेको बताउनुभयो ।
 
सो अवसरमा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले दुई ठूला राजनीतिक दल सम्मिलित वर्तमान सरकार हल्लाका पछि नलागी विकास निर्माणसहित सुशासन दिन प्रतिबद्ध रहेको बताउनुभयो । नयाँ भवनमा कार्यालयको कामकाज सुरु भएपछि पालिकावासीलाई सोहीअनुसार सुविधा दिनुपर्नेमा जोड दिँदै उहाँले जनताका काममा ढिलासुस्ती नगरी सेवा प्रवाह गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गर्नुभयो ।
 
गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले पर्यटकीय सम्भावना बोकेको इच्छाकामना गाउँपालिकाले ‘सुखी नेपाली, समृद्ध नेपाल’ निर्माण गर्ने प्रधानमन्त्रीको सङ्कल्पअनुसार काम गरिरहेको बताउनुभयो ।

    
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले प्रशासकीय भवन रु तीन करोड ९० लाखमा सम्पन्न भएको जानकारी दिनुभयो । उहाँका अनुसार सङ्घीय सकार, जिल्ला समन्वय समिति चितवन र गाउँपालिकाको संयुक्त लगानीमा भवन निर्माण सम्पन्न भएको हो । सो अवसरमा पूर्वजनप्रतिनिधिहरुलाई सम्मान गरिएको थियो ।रासस