चितवनबाट ठोरी हुँदै प्रसाईं भारत पसेको हल्ला मात्रै होः पर्सा प्रहरी उपरीक्षक

काठमाडौं । काठमाडौंमा हिंसात्मक प्रदर्शन मच्चाएर भागेका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं ठोरी नाका हुदैं भारत पसेको हल्ला मात्रै भएको पर्सा प्रहरीले बताएको छ । पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले प्रहरीले खोजी गरिरहेका प्रसाईं पर्साको ठोरी नाका भएर भारत पसेको खबरमा सत्यता नभएको बताए । पर्साका हरेक नाकामा प्रहरीले निगरानी गरिरहेको हुँदा ठोरी वा कुनै नाका भएर प्रसाईं भारत छिर्न सक्ने सम्भावना नरहेको मिश्रको भनाई छ ।
तर, यसअघि व्यवसायी दुर्गा प्रसाईं भारत पुगेको प्रहरी श्रोतले जनाएको थियो । एक उच्च प्रहरी अधिकारीले प्रसाईं चितवनको माडी हुदैं पर्साको ठोरी नाका भएर भारत पुगेको बताएका थिए । काठमाडौंको तीनकुने क्षेत्रमा चैत १५ गते प्रसाईंले ‘कमान्ड’ गरेको प्रदर्शन अराजक बनेपछि उनले काठमाडौं छाडेको ती प्रहरी अधिकारीले जानकारी दिए। प्रदर्शन उत्तेजित बनाएको र आन्दोलनका ‘कमान्डर’ समेत रहेकाले प्रसाईंलाई पक्राउ गर्ने सरकारी तयारीबिच प्रसाईं काठमाडौं छाडेर भारत हानिएको प्रहरीको भनाइ छ । प्रदर्शन हिंसात्मक बनेलगत्तै उनी ललितपुरको इमाडोलस्थित आफ्ना गुरु पुस्कर खतिवडाको घर पुगेका दुर्गा प्रसाईं चितवनको माडी हुदैँ ठोरी नाका भएर भारत गएको प्रहरीले दाबी गरेका थिए । यस्तै अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले उनी भारत पुगेको केही महत्त्वपूर्ण प्रमाण समेत फेला पारेको बताएका थिए।