गैंडाको आक्रमणबाट चितवनमा एक जना घाइते

चितवन । गैंडाको आक्रमणमा परी माडीको बनकट्टामा एकजना घाइते भएका छन् । माडी-१, बनकट्टास्थित रीउ नदी क्षेत्रमा सोमबार बिहान करीब ११ः३० बजे गैंडाले आक्रमण गर्दा स्थानीयबासी ६७ बर्षीया मंगले बोट गम्भीर घाइते हुनुभएको हो ।
रीउ किनारमा रामप्रसाद नेपालीको जमीन (प्लट)मा फैलिएको काँसघारीमा भैंसी चराइरहेका बोटलाई अचानक आइपुगेको गैंडाले आक्रमण गरेको र आक्रमणबाट बोटको ढाड र पेटमा गहिरो चोट लागेको प्रहरी चौकी बरुवाले जनाएको छ ।
बोटलाई गैंडाले आक्रमण गरेसंगै संगै रहेका गोठाला (साथी)हरुले गैंडा धपाई एम्बुलेन्समार्फत घाइतेलाई भरतपुर पठाएका थिए । घाइतेको हाल भरतपुरस्थित सरकारी अस्पतालमा उपचार भइरहेको वडाध्यक्ष अमित कुमार लामाले जानकारी दिनुभयो ।