गैँडाकोट नगरपालिकाले गर्यो गैँडाकोटमा विभिन्न क्षेत्रमा नेतृत्व गर्ने महिलालाई सम्मान 

२०८१ फाल्गुण २३ शुक्रबार १९:३६:०० मा प्रकाशित

गैँडाकोट । १ सय १५ औँ अन्र्तराष्ट्रिय महिला दिवसको अवसरमा गैडाकोट नगरपालिकाले आज (शुक्रबार) महिला नेतृत्व सम्मान तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । 


गैँडाकोट नगरपालिकाको परिसरमा भएको कार्यक्रममा गैँडाकोट नगरपालिकामा विभिन्न क्षेत्रमा नेतृत्व गरेका करिब ७५ जना महिलाहरुलाई सम्मान गरिएको थियो । खेलाडी, टोलविकास संस्था, सहकारी संस्था, विद्यालय बिभिन्न नेतृत्वदायि क्षेत्रमा भुमिका खेलेका महिलालाई प्रोत्साहन र प्रेरणा स्वरुप सम्मानित गरिएको थियो । गैँडाकोट नगरपालिकाका निर्वतमान उपप्रमुख विष्णुकुमारी कँडेल, इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख कमला नराल लगायतका नेतृत्वदायि स्थानमा रहेका ७५ महिलालाई सम्मानित गरिएको थियो ।


कार्यक्रममा बोल्दै गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले महिला आफै जागरुक बनेर अगाडी आउनुपर्ने बताउनुभयो । उहाँले व्यवहारमा दृढ बन्ने र व्यवहारिक रुपमा नै अधिकारका लागि महिला अगाडी आउनुपर्ने बताउनुभयो । 


यस्तै, गैँडाकोट नगरपालिकाका नगर उपप्रमुख शान्ति कोइरालाले समाजका विभिन्न क्षेत्रमा नेतृत्वदायि भुमिका खेलेका महिलालाई प्रेरणा र प्रोत्साहनका लागि सम्मान कार्यक्रम गरेको बताउनुभयो । महिलाहरुमा आत्मविश्वास बढाइ आत्मनिर्भर हुनुपर्ने आजको आवश्यकता रहेको उपप्रमुख कोइरालाले बताउनुभयो । 


कार्यक्रममा महिला अधिकारकर्मी, आर्दश गृह चितवनका संस्थापक महिलाको संबैधानिक अधिकार र महिलाको अवस्थाका बारेमा सहजिकरण गर्नुभएको थियो । यस्तै गैँडाकोट नगरपालिकाका न्यायिक सहजकर्ता एवं अधिबक्ता खिलनाथ घिमिरेले महिलाको हक र न्यायको कानुनी पाटोका बारेमा जानकारी गराउनुभएको थियो । यस्तै इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख कमला नरालले प्रहरी कार्यालयमा हुने काम र सेवाको बारेमा जानकारी गराउनुभएको थियो । 


गैँडाकोट १४ का वडाध्यक्ष कोकीसरा राना मगरले महिला पनि पुरुष सँग प्रतिस्पर्धा गरेर अगाडी आउन सक्ने क्षमता भएकाले आफु सबल र सक्षम बन्न सबैलाई आग्रह गर्नुभयो ।

 
कार्यक्रममा गैँडाकोट नगरपालिकाका निवर्तमान नगर उपप्रमुख विष्णुकुमारी कँडेल, नवलपुरका जिल्ला समन्वय समिति सदस्य लिला पौडेल, गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत झविन्द्र खनाल गैँडाकोट नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष एवं सामाजिक विकास समितिका संयोजक रत्नप्रसाद सापकोटा, गैँडाकोट २ का वडाध्यक्ष प्रकाश सापकोटा, गैँडाकोट ११ का वडाध्यक्ष गोविन्दप्रसाद सुवेदी लगायत कार्यपालिका सदस्य, जनप्रतिनिधि, सामाजिक व्यक्तित्वहरुको उपस्थिती रहेको छ । 


कार्यक्रममा नगरकार्यपालिका सदस्य शान्ता घर्तिले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको बारेमा महिला तथा बालबालिका शाखा प्रमुख सिता लामिछाने पौडेलले जानकारी गराउनु भएको थियो । कार्यक्रमको सञ्चालन विजय एफएमका कार्यक्रम संयोजक माया कँडेलले गर्नुभएको थियो ।