पठन संस्कृति अभियानको ११ औँ शृङ्खला भोली हुँदै 

२०८१ फाल्गुण २३ शुक्रबार १८:४४:०० मा प्रकाशित


गैँडाकोट । पठन संस्कृति अभियानको ११ औँ शृङ्खलामा भोली हुँदैछ । विजय एफएम १०१.६ ले आयोजना गरेको पठन संस्कृति अभियानको ११ औँ शृंखलामा प्राध्यापक डाक्टर देवीप्रसाद कंडेल प्रमुख वक्ताको रुपमा रहनुहुनेछ । शनिबार विहान बिहान ११ बजे विजय विकास स्रोत केन्द्रको तालिम हलमा कार्यक्रम हुनेछ ।

अन्तर्राष्टिय महिला दिवशको सन्दर्भ पनि सोही दिन परेको हुँदा प्रा.डा. कंडेलले महिला अधिकार, महिला अधिकारको इतिहास र वर्तमान अवस्थाका विषयमा प्रष्ट पार्नुहुनेछ । चितवन निवाशी प्रा.डा. कंडेलले विरेन्द्र बहुमुखी क्याम्पसमा इतिहास विषय प्राध्यापन गर्नुहुन्थ्यो ।

उहाँले नेपालमा महिलाहरुको सम्पत्ति सम्बन्धि अधिकार, विधवा महिला, नेपालको आधुनिक इतिहास, चीन र जापानको इतिहास र विश्वको इतिहास लगायतका पुस्तकहरु लेख्नुभएको छ । सामुदायिक रेडियो विजय एफएम १०१.६ को आयोजनामा भइरहेको कार्यक्रमले समुदायमा पठन संस्कृतिको विकास गराउन मद्दत गरेको विजय एफएमका अध्यक्ष त्रिलोचन सापकोटाले जानकारी दिनुभयो ।

यस अभियानले सकरात्मक सोच र चिन्तनको विकास गराउन मद्दत पु¥याउने सापकोटाको विश्वास रहेको छ । गत वैशाख १५ गतेबाट पठन संस्कृति अभियान सुरु भएको थियो ।