गैंडाकोटमा बालबालिकालाई बहुक्षेत्रीय पोषण सम्बन्धि अभिमुखीकरण

२०८१ फाल्गुण १० शनिबार १९:५८:०० मा प्रकाशित

‘स्वस्थ बालबालिका समृद्ध भविष्य’ भन्ने अभिप्रायका साथ गैंडाकोटमा आज (शनिबार) बालबालिकालाई बहुक्षेत्रीय पोषण अभिमुखीकरण गरिएको छ । गैंडाकोट नगरपालिका नगर कार्यपालिकाको आयोजनामा गैंडाकोट नगरपालिकाको सभाहलमा वडा १ देखि ९ वडासम्मका बालसञ्जालका सदस्यहरु तथा वडाका बालबालिकाहरुलाई पोषण सम्बन्धी अभिमुखीकरण गरिएकोे हो ।
कार्यक्रममा गैंडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारी र नगर उपप्रमुख शान्ति कोइरालाले अभिभावकहरुले बालबालिकाको पोषणमा ध्यान दिनुपर्ने र नगरपालिकाले पनि बालबालिकाको शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गर्दै आएको र अझ लगानी गर्न आवश्यक रहेको बताउनुभयो । 
गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत झविन्द्र खनालले बालबालिकाहरुलाई सानैदेखि स्वास्थ्य सम्बन्धी सचेत गराउनुपर्ने बताउनुभयो । नगरपालिकाले पनि स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिई बजेट वृद्धि गर्नुपर्ने बताउनुभयो । 
पोषणको अभावका कारण कयौं बालबालिकाहरुले समस्या भोग्दै आइरहेको र बालबालिकालाई यस सम्बन्धी सचेत गराउन आवश्यक रहेको हुदाँ पनि पोषणसम्बन्धी अभिमुखीकरण कार्यक्रम राखेको गैँडाकोटका जनस्वास्थ्य निरीक्षक माधव आचार्यले बताउनुभयो । आचार्यले बालबालिकाहरुलाई पोषण सम्बन्धी प्रशिक्षण दिनुभएको थियो । उहाँले बालबालिकाहरुलाई वौद्धिक विकासका लागि बच्चा जन्मेको ६ महिनादेखि बृद्धसम्म हरेक बार खाना ४ अर्थात् शरीरलाई शक्ति दिने खाना, शरीर वृद्धि र विकास गर्ने, थप तागत दिने खाना र रोगबाट बचाउने खाना दिनहु खानुपर्ने बताउनुभयो । साथै आचार्यले सुनौलो हजार दिन, जुकाको औषधीको र आइरन चक्कीको सही प्रयोगको बारेमा पनि बालबालिकालाई सचेत गराउनुभयो । बालबालिकाहरुले पनि ध्यानपूर्वक  स्वास्थ्य तालिम लिइरहेका थिए । 
वडा नं ५ का वडाध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक रत्न प्रसाद सापकोटाको अध्यक्षतामा गरिएको कार्यक्रममा वडा नं ४ का कार्यपालिका सदस्य शान्ति घर्तीले स्वागत मन्तव्य राख्नुभएको थियो । पोषण सहजकर्ता गिता सुवेदीले सहजीकरण गर्नुभएको कार्यक्रममा विभिन्न वडाका वडाध्यक्ष, स्वास्थ्यकर्मी, विद्यार्धीहरु लगायतको उपस्थिती रहेको थियो । 
यहीँ फागुन ७ गते जनता मा.वि मा नगरअस्पताल प्रमुख पुष्पराज श्रेष्ठले १० देखि १७ सम्मका बालसंजालका सदस्यहरु तथा वडाका बालबालिकाहरुलाई पोषण सम्बन्धी अभिमुखीकरण गराउनुभएको थियो भने छिट्टै वडा १८ का बालबालिकाहरुलाई पनि पोषण सम्बन्धी अभिमुखीकरण गराउने पोषण सहजकर्ता गिता सुवेदीले जानकारी दिनुभयो ।