चितवनमा उत्प्रेरणा कार्यक्रम “हामी सुधार्छौँ, हाम्रो विद्यालय”

२०८१ फाल्गुण ९ शुक्रबार १८:२६:०० मा प्रकाशित


चितवन । चितवनका सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका प्रतिनिधिहरूले आफ्नो विद्यालय आफै सुधार गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालको आयोजनामा चितवनमा शुक्रबार भएको हामी सुधाछौँ, हाम्रो विद्यालय राष्ट्रिय अभियान अन्तर्गत शैक्षिक अन्तरक्रिया तथा उत्प्रेरणा कार्यक्रममा सरोकारवालाहरुले परिवर्तनको अगुवाई विद्यालय भित्रबाट गर्नुपर्ने धारणा राखेका छन् । 


शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले प्रधानाध्यापकहरुले शैक्षिक गुुणस्तर अभिवृद्धिका लागि खट्नुपर्ने बताउनुभएको छ । शैक्षिक गुणस्तर अभिवृद्धि नहुनुको कारण विद्यार्थी र अभिभावकहरुलाई दोष थोपर्ने प्रधानाध्यापकहरुको प्रवृत्ति अपराध नै भएको संज्ञा दिनुभयो । 

बागमति प्रदेश सरकारका सामाजिक विकास मन्त्री हरिप्रभा खड्गी श्रेष्ठले शिक्षालाइ उद्यमशीलतासँग जोड्न आवश्यक भएको बताउनुभएको छ । कमाउँदै सिक्दै, सिक्देै कमाउँदै कार्यक्रमलाई बागमति सरकारले प्राथमिकता दिने तयारी गरेको बताउनुभयो । सार्वजनिक शिक्षा सुधारका लागि तीनै तहको जिम्मेवारी भएपनि स्थानीय सरकारले प्रभावकारी काम गर्न सक्ने मन्त्री श्रेष्ठले बताउनुभयो । 

शिक्षा तथा मानवस्रोत विकास केन्द्रका पूर्व महानिर्देशक दिपक शर्माले विद्यालयहरूको गुणस्तर वृद्धि र असल व्यवस्थापनमा समुदायको सक्रियता बढेमात्र सम्भव हुने बताउनुभयो । राज्यले विद्यालयको अनुमतिमात्र प्रदान गर्ने र सञ्चालन र व्यवस्थापनको जिम्मा समुदायकै रहुनुपर्ने धारणा राख्नुभयो । 


स्थानीय शासन विज्ञ सोमत घिमिरेले नेपाल, संघियतामा प्रवेश गरेपछि सामुदायिक विद्यालय धराशायी हुँदै गइरहेको धारणा राख्नुभयो । संविधानले समाजवादको परिकल्पना गरेपछि सरकारी संस्थाहरु बलियो बनाउन आवश्यक भएको उहाँले बताउनुभयो । 
नारायणी नमुना माध्यामिक विद्यालय चितवनका पूर्व प्रधानाध्यापक पूर्णप्रसाद दवाडीले विद्यालय सुधार गर्न सबैभन्दा पहिला अभिभावकलाई पढाउनुपर्ने सुझाब दिनुभयो । 


शिक्षा विकास तथा समन्वय इकाई चितवनका प्रमुख विष्णुप्रसाद भट्राईले चितवनमा शिक्षाको अवस्था, संभावना र चुनौतीका विषयमा प्रकाश पार्नुभएको थियो । 


सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालका अध्यक्ष गुणराज मुक्तानले अरु शैक्षिक समूह वा संस्थाबाट सामुदायिक विद्यालयको परिवर्तन नदेखेपछि हामी सुधार्छौँ, हाम्रो विद्यालय अभियानको थालनी गरेको बताउनुभयो । 


हामी सुधाछौँ, हाम्रो विद्यालय राष्ट्रिय अभियान अन्तर्गत शैक्षिक अन्तरक्रिया तथा उत्प्रेरणा कार्यक्रममा चितवनका ३ सय बढी विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वा प्रतिनिधिहरुको क्यान्सर अस्पतालको सभाहलमा उपस्थिति रहेको थियो । उनिहरुले कार्यक्रममा आफ्नो विद्यालय आफै सुधार गर्ने प्रतिवद्धता समेत गरेका थिए ।