त्रिशूलीमा बेपत्ता मोटरसाइकल चालक खोज्न गोताखोर परिचालन

नवलपुर । नारायणगढबाट काठमाडौँतर्फ जाँदै गर्दा मोटरसाइकल दुर्घटना हुँदा चालक त्रिशूली नदीमा बेपत्ता भएका छन् । चितवनको इच्छाकामना गाउँपालिका-५ मा डिभाइडरमा ठोक्किएर मोटरसाइकल दुर्घटना हुँदा त्रिशूली नदीमा मोटरसाइकल चालक बेपत्ता भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी ज्ञान कुमार महतोले दिएको जानकारी अनुसार बेपत्ता चालकको पर्समा भेटिएको कागजातका अनुसार उनी भारतीय सेनामा कार्यरत (गोर्खा राइफल म्यान) रहेको पुष्टि भएको छ । उनी लम्जुङ घर भएका २७ वर्षीय रोहित राना हुन्।
हाल रानालाई खोज्न गर्न गोताखोर परिचालन गरिएको छ । सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक सूर्यराम राउतको कमान्डमा ६ जना गोताखोर टोली खोजीमा जुटेको छ ।
आज (शुक्रबार) बिहान ११ः५५ बजे बा ००६-०२ प ९२०४ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटना हुँदा राना सडकबाट अन्दाजी १५० मिटर तल त्रिशूली नदीमा खसेका थिए ।