अमेरिका पठाइदिन्छु भन्दै २१ लाख ठगी, दुई आरोपी पक्राउ

२०८१ फाल्गुण २ शुक्रबार १३:२९:०० मा प्रकाशित

काठमाडौं । आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा  २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।


पक्राउ पर्नेहरूमा  सिरहा नगरपालिका-८ घर भई काठमाडौं महानगरपालिका-३२ बस्ने ३३ वर्षीय रमेश कुमार ठाकुर र धनुषा विदेह नगरपालिका-५ घर भई ललितपुर महालक्ष्मी नगरपालिका-५ बस्ने २९ वर्षीय बिशाल ठाकुर रहेका छन् ।

 

उनीहरूलाई प्रहरीले बुधबार पक्राउ गरेको हो । उनीहरूले अमेरिका पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट २१ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले रमेशलाई काठमाडौं तीनकुनेबाट र विशाललाई कोटेश्वरबाट पक्राउ गरेको हो ।

 

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं तथा रविनलाई प्रहरी वृत्त बौद्ध पठाइएको छ । प्रहरीले थप अनुसन्धान जारी राखेको छ ।