कवि रिमालको चिसो बाकस कविता संग्रह लोकार्पण
नवलपरासी पूर्व । गैंडाकोटका नवोदित कवि एकदेव रिमालको पहिलो कविता संग्रह “चिसो बाकस” एक कार्यक्रमका बीच लोकार्पण गरिएको छ । कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका गैंडाकोट नगरपालिकाका प्रमुख मदनभक्त अधिकारीले गैंडाकोटमा अर्का एक जना कवि जन्मिएको बताउनुभयो । उहाँले प्राज्ञिक संस्थामा नेतृत्व गर्ने व्यक्ति आफू नभएकाले गैंडाकोट प्रज्ञा प्रतिष्ठानको अभिभारा हस्तान्तरण गर्ने तयारी रहेको बताउनुभएको छ । यसअघिको नगरसभाबाट ऐन नै संशोधन गरेर तयारी अघि बढाइएको हो ।
समीक्षक उदय अधिकारीले पाठकीय समीक्षा प्रस्तुत गर्नुभएको थियोे भने पुस्तकीय समीक्षा कवि भूपिनले प्रस्तुत गर्नुभएको थियो । उहाँहरुले एक सशक्त गद्यकविका रुपमा एकदेव रिमाल उदाउनुभएको बताउनुभएको छ ।
कार्यक्रममा आफ्नो संक्षिप्त प्रतिक्रिया दिँदै गैंडाकोट नगरपालिकाका उपप्रमुख शान्ति कोइरालाले कवि तथा साहित्यकारहरुको प्रतिभा प्रस्फुटनलाई लक्षित गर्दै प्रज्ञा प्रतिष्ठानको स्थापना र त्यसलाई थप सशक्त बनाउँदै लगिएको बताउनुभयो ।
उहाँले स्रष्टाको कलमलाई सदैव सम्मान गर्नेसमेत बताउनुभयो । कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै प्रेम रिमालले गोपालप्रसाद रिमाल पछिको धारमा आफूलाई उभ्याउन लेखकलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा स्रष्टाहरु बालकृष्ण थपलिया, गणेश श्रमण, विश्व लम्साल, मिना रिमाल र गोविन्द रिमालले चिसो बाकस कृतिका रचनाहरु पाठ गरेका थिए । गैंडाकोट नगर प्रज्ञा प्रतिष्ठानका उपकुलपति एवम् वरिष्ठ साहित्यकार गोविन्दराज विनोदीको अध्यक्षता रहेको सो कार्यक्रममा नवलपुर, चितवन र आसपासका क्षेत्रबाट दर्जनौ साहित्य अनुरागीहरुको उपस्थिति थियो ।
कार्यक्रममा लेखकका पिता ईश्वरीनाथ रिमालले आफ्नो छोराले यस किसिमको कृति प्रकाशन गरेकोमा गौरवान्वित हुँदै प्रशंसासमेत गर्नुभयो । कार्यक्रममा दर्जनौं उद्योगी व्यवसायी, राजनीतिकर्मी, सामाजिक तथा शैक्षिक व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा कवि रिमालले अत्यन्तै भावुक हुँदै सम्पादक तथा प्रकाशकलाई धन्यवाद दिनुभयो । ५१ वटा कविता संग्रहित उक्त कृतिबाट उहाँले शीर्ष कविता चिसो बाकस, आमा र तुलसीको मोठ र मेरो पहाड वाचन गर्नुभएको थियो ।
उक्त गैंडाकोट नगर प्रज्ञा प्रतिष्ठानको पहिलो कृति लोकार्पण कार्यक्रममा स्वागत मन्तव्य प्रतिष्ठानका सचिव भीमप्रसाद शर्माको रहेको थियो भने कार्यक्रमको सहजीकरण कवि सुरेन्द्र अस्तफलले गर्नुभएको थियो ।
कार्यक्रममा डा. एकनारायण पौडेल, डा केशवराज चालिसे, इन्द्रराज पौडेल, खेमराज सापकोटा, नारायणप्रसाद तिवारी, तेजप्रसाद घिमिरे, बद्री सापकोटा, षडानन्द लामिछाने, प्रकाश अधिकारी, गोकुल सापकोटा, शरदचन्द्र पण्डित, कमला तिवारी, चूडामणि शर्मा कण्डेल, इन्द्रराज भट्टराई, सूर्यनाथ तिवारी, नारायणप्रसाद पण्डित, रोशनभक्त अधिकारी, मुना धनन्जय, लेखराम सापकोटा, रामहरि शर्मा, गोविन्द कोइरालालगायत सयौं साहित्यअनुरागीहरुको उपस्थिति रहेको थियो ।