कालिकामा वातावरण संरक्षणसँग सम्बन्धीत वैज्ञानिक तथा सांस्कृतिक मान्यताका बारेमा छलफल
गैँडाकोट । वातावरण संरक्षणसँग सम्बन्धीत वैज्ञानिक तथा सांस्कृतिक मान्यताका बारेमा पनि गैँडाकोटमा आज छलफल भएको छ । ‘सम्पूर्ण प्राणीहरुको कल्याणार्थ वातावरण संरक्षण गरौं’ भन्ने अभिप्रायका साथ नेपाल संस्कृत विश्वविद्यालय कालिका संस्कृत विद्यापीठ गैंडाकोटको आयोजनामा ‘वातावरण संरक्षणमा समुदायको भूमिका’ सम्बन्धी अन्र्तरक्रिया कार्यक्रममा बोल्दै सरोकारवालाले यस्तो बताएका हुन् । मानिसको जिवन नै वातावरण र प्रकृतिसँग सम्बन्धित रहेकोले यसको संरक्षणमा पनि चनाखो हुनुपर्ने बताएका थिए ।
कार्यक्रममा कालिका संस्कृत विद्यपीठका प्राचार्य डा. रामचन्द्र कण्डेलले ‘प्राचीन संस्कृतिमा वनस्पती’ भन्ने विषयमा आफ्नो भनाई राख्नुभएको थियो । उहाँले पुराणहरुमा वनस्पतिहरुलाई देवतासँग जोडिएको र तिनीहरुलाई जीवित प्राणी सरह आदर गरी देवतासरह पूजा गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा कृषि तथा वन विज्ञान विश्व विद्यालय सिद्धान्त कलेजका प्राचार्य छविलाल कंडेलले वर्तमानको वातावरणीय अवस्था दिनप्रतिदिन गम्भीर भएको बताउनुभयो । कंडेलले जलवायु परिवर्तन, प्रदूषण, वन विनाश र प्राकृतिक स्रोतहरुको अत्याधिक उपयोगले पर्यावरणमा नकारात्मक प्रभाव पारिरहेको समेत बताउनुभयो ।
त्यस्तै, कार्यक्रमका विशिष्ट अतिथी डा. धर्मराज सापकोटाले ‘वनस्पति संरक्षण र डढेलो नियन्त्रण’ भन्ने विषयमा आफ्ना भनाइहरु राख्दै वनस्पति संरक्षणले प्राकृतिक वातावरणलाई सन्तुलनमा राख्न, जैविक विविधता जोगाउन र जलवायु परिवर्तनको प्रभावलाई कम गर्न मदद्त पु¥याउने बताउनुका साथै डढेलोले प्रकृतीमा पार्ने असरहरुका बारेमा पनि प्रष्ट पार्नुभयो ।
कालिका संस्कृत विद्यपीठ सञ्चालक समितकिा अध्यक्ष ओमप्रसाद सापकोटाको अध्यक्षतामा तथा प्रमुख अतिथी सब डिभीजन वन कार्यालय गैंडाकोटका प्रमुख दुर्गा कंडेलको आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तव्य वातावरण संरक्षण उपसमितीका संयोजक वेदप्रसाद गौडेलले राख्नुभएको थियो ।
कालिका संस्कृत विद्यापीठका उप प्राध्यापक पीताम्बर सापकोटाले सहजीकरण गर्नुभएको उक्त कार्यक्रममा विशिष्ट अतिथी स्थानीय वन महासंघका अध्यक्ष निर्मला कंडेल, विकु बचत तथा क्रण सहकारी संस्थाका सि ओ माधव प्रसाद पौडेल, कालिका संस्कृत विद्यापीठका कोषाध्यक्ष लक्ष्मी प्रसाद सापकोटा, विभिन्न सामुदायीक वनका अध्यक्ष, सदस्य लगायतकोे उपस्थिती रहेको थियो ।
कार्यक्रममा कृषि तथा वन विज्ञान विश्व विद्यालय सिद्धान्त कलेज गैंडाकोट, नन्दन सामुदायीक वन, नारायणी सामुदायिक वन, जयश्री सामुदायिक वन, मौलाकालिका सामुदायिक वन र देउराली सामुदायिक वन गैंडाकोट सह आयोजकका रुपमा रहेका थिए । यसैबिच सोही कार्यक्रममा विकू बचत तथा क्रण सहकारी संस्था लिमिडेट गैंडाकोटले डस्टबिन र त्यहाँ उपस्थित सम्पूर्णलाई कापी र कलम प्रदान गरेको थियो ।