पत्रकार भुपराज पाठकको उपचारका लागि एक्सपर्टद्धारा ५० हजार सहयोग ।
चितवन । सामान्यतया कार्यक्रमको उद्घाटनमा बत्ती बालिन्छ वा बिरुवामा पानी हालिन्छ वा कहिलेकाहीँ ब्यानर पढेर पनि उद्घाटन गरिन्छ । तर, भरतपुरमा रक्तक्यान्सर रोगसंग लडिरहेका पत्रकारलाई आर्थिक सहयोग गरेर एक कार्यक्रमको उद्घाटन गरिएको छ । एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज चितवनले एनुअल अवार्ड नाइट–२०२४’ को उद्घाटनमा पत्रकार भुपराज पाठकको उपचारमा नगद ५० हजार रुपैयाँ सहयोग गर्दै कार्यक्रमको समुद्घाटन गरेको छ । एक्सपर्ट नेपालका निर्देशक खेम सङ्ग्रौला र एक्सपर्ट चितवनका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले उपचार सहयोग समितिका उपाध्यक्षद्वय रामचन्द्र लम्साल र हरिप्रसाद न्यौपानेलाई सो रकमको चेक हस्तान्तरण गर्नुभएको हो । एक्सपर्टले शुक्रबार साँझ एनुअल अवार्ड नाइट (कर्मचारीहरुलाई सम्मान) कार्यक्रम आयोजना गरेको थियो । भारतको नयाँदिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालमा रक्तक्यान्सर प्रभावित पाठकको उपचार सुरु भएको हो । करिब ५० लाख रुपैयाँ खर्च लाग्ने सो उपचारका लागि माडीसँगै देशैभर र प्रवासका विभिन्न ठाउँबाट आर्थिक सहयोग जुटाउन अभियान चलिरहेको छ ।