बाघ मार्ने साधन सहित प्रक्राउ परेका न्यौपानेलाई मुद्धा दायर गर्ने तयारी ।

२०८१ पौष ७ आइतबार २१:०९:०० मा प्रकाशित

नवलपरासी वर्दघाट सुस्तापूर्व विनय त्रिवेणी गाउँपालिका–१ का २० वर्षीय अमृत न्यौपानेलाई  पाटेबाघ मार्ने उद्योगमा प्रहरीले पक्राउ गरेको छ । चितवन राष्ट्रिय निकुञ्जले न्यौपानेलाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत गणेश पन्तका अनुसार सोही गाउँपालिका–१ मा पर्ने तीनचुली सामुदायिक वनको लक्ष्मीडाँडामा वन्यजन्तुको सिकार गर्न प्रयोग भएको सवारीसाधनको ब्रेकको तार एक थान, केवल लाइनमा प्रयोग हुने तार एक थान र रौँ अल्झेको जस्तो देखिने तार एक थान फेला परेसँगै अनुसन्धानका क्रममा पाटेबाघको रौँ भएको पाइएपछि न्यौपानेलाई पक्राउ गरिएको हो । न्यौपानेको मोबाइलबाट कल डिटेल निकाल्ने क्रममा पासोमा परेको बाघको तस्बिरसमेत प्राप्त भएको पन्तले जानकारी दिनुभयो । पक्राउ परेका न्यौपानेलाई बाघ मार्ने उद्योगमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को पाँचौँ संशोधनको दफा २६ उपदफा (५घ०) बमोजिम कसुर गरेकाले सोही ऐनको दफा २६ को उपदफा १ बमोजिम सजाय माग दाबीसहित मुद्दा दर्ता गरिएको पन्तले बताउनुभयो । न्यौपानेलाई गत कात्तिक २९ गते नै पक्राउ गरी अनुसन्धान थालिएको थियो ।