नेकपा माओवादी केन्द्र गैंडाकोटको अध्यक्षमा अधिकारी र कुँवरबीच निर्वाचन हुने 

२०८१ पौष ३ बुधबार १७:२४:०० मा प्रकाशित


नवलपरासी पूर्व । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र गैंडाकोट नगरकमिटिको अध्यक्षका बारेमा पौष ७ गते मात्र टुङ्गो लाग्ने भएको छ । नगरकमिटिको मंगलबार भएको दोस्रो अधिवेशनले अध्यक्ष बाहेक अन्य पदमा सर्बसम्मत चयन भएको नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश सदस्य गोपी कंडेलले बताउनुभएको छ ।

नेकपा माओवादी केन्द्र गैँडाकोट नगरकमिटि ५५ सदस्यीय हुन्छ । जसमा अध्यक्ष र कोषाध्यक्ष बाहेक अरु पदमा टुङ्गो लागिसकेको छ । कोषाध्यक्ष पदका लागि छलफल भइरहेको र सहमति नजिक रहेको प्रदेश सदस्य कंडेलले जानकारी दिनुभयो । अध्यक्ष पदका लागि भने पौष ७ गते निर्वाचन हुने भएको छ । निर्वाचन मार्फत अध्यक्ष पदको छिनोफानो हुनेछ ।


अध्यक्ष पदका लागि प्रकाश अधिकारी र दुर्गाजीत कुँवरबीच प्रतिष्पर्धा हुनेछ । दुबैजनालाई सर्बसम्मत चयन भएका अन्य पदाधिकारी तथा सदस्यले मतदान गर्ने प्रदेश सदस्य कंडेलले जानकारी दिनुभयो । निर्वाचन पौष ७ गते विहान ११ बजे पार्टी कार्यालय गैँडाकोट ५ खत्रीफिडमा हुनेछ । प्रकाश अधिकारी यस अघि उपाध्यक्षमा रहेर काम गर्नुभएको थियो भने दुर्गाजीत कुँवरले गँैडाकोट  वाड नं. ८ को पार्टी अध्यक्ष बनेर क्रियाशील रहनुभएको थियो । अधिकारी र कुँवरबीच सहमति नजुटेपछि निर्वाचन हुने भएको हो । 


गैँडाकोट नगरकमिटिको दोस्रो अधिवेशनले उपाध्यक्षमा गैँडाकोट १६ का विष्णुप्रसाद सापकोटा, उपाध्यक्षमा सुकबहादुर दंगाली मगर, महिला उपाध्यक्षमा रामकुमारी रिमाल (सुधा), सचिवमा गैँडाकोट ५ का अर्जुन पोखरेल, सहसचिवमा गँैडाकोट ११ का बाबुराम पराजुली सर्बसम्मत चयन हुनुभएको छ ।