कालिका मावि सिकाइ सुधारमा, सिकाई उपलब्धी बढाउने शिक्षकलाई पुरस्कार 

२०८१ पौष ३ बुधबार १०:५१:०० मा प्रकाशित


नवलपरासी पूर्व । कालिका नमुना माध्यमिक विद्यालय गत सातादेखि ४९ औँ वर्षमा प्रवेश गरेको छ ।  कालिका मन्दिर कालिका आश्रमको नजिकै सु–सम्य, सु–संस्कृत वातावरणमा रहेको विद्यालयले गत विहिबार ४९ औँ वार्षिकोत्सव तथा अभिभावक दिवश समारोह सम्पन्न गरेको थियो । अभिभावक दिवशमा विद्यालयका प्रधानाध्यापकले प्रस्तुत गरेको प्रतिवेदन अनुसार विद्यालयको औषत सिकाई उपलब्धी तल्लो तहमा भन्दा माथिल्लो तहमा कम देखिन्छ ।

 

आधारभूत तह अन्तर्गत कक्षा १–५ मा विद्यार्थीको औषत सिकाइ उपलब्धी ३.०९ रहेको छ । कक्षा ६ देखि ८ सम्मका विद्यार्थीको सिकाई उपलब्धी २.७९ रहेको देखिन्छ ।  कक्षा ९ र १० को औषत सिकाई उपलब्धी २.२९ रहेको छ ।  विद्यालय भित्र मात्र हुने मूल्याङ्कन कारण कक्षा १–५ को सिकाई उपलब्धी बढी देखिनु र उपल्लो कक्षामा पुग्दा कक्षा ८ र कक्षा १० को मूल्याङ्कनको आधार विद्यालय मात्र नहुने भएको कारण पनि सिकाई उपलब्धी कम भएको हुन सक्छ । आधारभूत तह देखिनै यथार्थ मूल्याङ्कन, नतिजा, विश्लेषण र सुधारका योजना बनाउँदै अघि बढे विद्यालयका विद्यार्थीको सिकाई उपलब्धी थप सुधार हुने तथ्याङबाट विश्लेषण गर्न सकिन्छ । 


कालिका नमुना माध्यामिक विद्यालयले विद्यार्थीको सिकाई उपलब्धी बढाउन शिक्षक प्रोत्साहनका कार्यक्रमहरु पनि अघि सारेको छ । विद्यालयका प्रधानाध्यापक होमनाथ शर्माका अनुसार विषयगत शिक्षकले आफूले पढाउने विषयमा आधारभूत तह कक्षा ८, माध्यमिक शिक्षा परिक्षा कक्षा १० र कक्षा १२ मा औषत जिपिए ३.० वा सो भन्दा बढी ल्याउन सक्छ त्यस्तो शिक्षकलाई जनही १० हजार पुरस्कृत गरिने भएको छ । विद्यालयले कक्षा ८ र कक्षा १० मा राम्रो पढाउने शिक्षकलाई प्रोत्साहन गर्ने आधारबाट मात्रै विद्यार्थीको सिकाई उपलब्धी ह्वात्तै बढ्ने सम्भावना देखिदैन । जग सुधार्दै अघि बढ्न तल्लो तहका शिक्षकलाई पनि प्रोत्साहनको व्यवस्था गर्न जरुरी देखिन्छ । शिक्षक पुरस्कृतको मापदण्ड र बर्ष शिक्षक लगायतका प्रोत्साहनका कार्यक्रम पनि रहेको विद्यालयका प्रधानाध्यापक शर्माले विजय खबरलाई बताए । 
यस वर्षपनि विद्यालयले निरोज खनाललाई वर्ष शिक्षकको रुपमा सम्मान गरेको छ । यस्तै शिक्षण सिकाईमा उत्कृष्ट कार्यसम्पादन गरेका झलकराज पौडेल, सितादेवी बस्याल, जानकी रोका, टिका कुमारी पौडेल, भानुभक्त सापकोटा, केशव सापकोटा, शिव अधिकारी, यमुना शर्मा र कल्पना शर्मालाई सम्मान गरिएको छ । यसैगरी निवृत्त शिक्षक प्रजानाथ कंडेल, बलराम काप्री, भानुभक्त लामिछाने, मलाल गुरुङलाई पनि सम्मान गरिएको छ । 


यस्तै कक्षा १२ मा गत वर्ष ९८ जना विद्यार्थी परिक्षामा सहभागि थिए । जसमा ७६ जना उत्तीर्ण गराउन सफल भएको प्रधानाध्यापक शर्माले बताए । उनका अनुसार गैँडाकोट नगरपालिका भरि सबैभन्दा बढी विद्यार्थी उत्तीर्ण गराउन कालिका सफल भएको छ । कक्षा १२ मा विद्यार्थी औषत जिपिए २ दशमलब ५ रहेको थियो । 


ग्रामीण जनसमूहको न्यानो पारिलो र पोषिलो ममतामयी वातावारणमा वि.सं. २०३२ सालमा कालिका स्कूल स्थापनाको प्रयास भएको थियो । वि.स. २०३३ साल मंसिर २७ गते सकरात्मक सामाजिक परिवर्तनका लागि शिक्षाको आवश्यकता महशुस गरेर कालिका स्कुलको स्थापना भएको हो । 


वि.सं. २०४० सालमा निम्न माध्यमिक तहको स्वीकृति लिएको यस विद्यालयले वि.सं. २०४८ सालमा माध्यमिक तहको स्वीकृती लिएर वि.सं. २०५० सालमा पहिलो पटक एसएलसी दिएको थियो  ।  वि.सं.२०६४ सालमा उच्च माध्यमिक विद्यालय स्थापना भएको थियो भने वि.सं. २०७४ सालमा नेपाल सरकार शिक्षा मन्त्रालय, शिक्षा तथा मानव विकास स्रोत केन्द्र, विद्यालय मापदण्ड निर्धारण शाखाबाट नमुना विद्यालय विकासका रुपमा छनौट भएको थियो ।


शैक्षिक दृष्टिकोणले कालिका नमुना माध्यमिक विद्यालयले उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ । विज्ञान, व्यवस्थापन, र मानविकी विषयमा उच्च माध्यमिक शिक्षा उपलब्ध गराउँदै आधुनिक शिक्षण प्रविधि र विद्यार्थी केन्द्रीत विधिहरूलाई प्राथमिकता दिएको विद्यालयका प्रधानाध्यापक होमनाथ शर्माले बताएका छन् । अतिरिक्त क्रियाकलाप, खेलकुद, र सांस्कृतिक कार्यक्रमहरू मार्फत विद्यार्थीहरूको सर्वांगीण विकासलाई प्राथमिकता दिएको यस विद्यालयले आफ्नोे विद्यार्थीलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि सक्षम बनाउँदै आएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गंगाधर सापकोटाले बताए  । 


विद्यार्थीलाई स्वावलम्बन बनाउन पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत विद्यार्थीहरु बेसार खेती, ड्रागन खेती, सयपत्री फूल खेती तथा सीप विकास कार्यक्रम अन्तर्गत चित्रकला, तेक्वान्दो, नौमती बाजा बजाउन सफल भएको प्रधानाध्यापक होमनाथ शर्माले बताए  । 


प्रधानाध्यापक शर्माका अनुसार  विद्यालयमा कक्षा नर्सरी देखि कक्षा १२ सम्म अंग्रेजी र नेपाली माध्यममा कक्षा सञ्चालन भइरहेको छ । यस शैक्षिक सत्र २०८१ मा १ हजार ४ सय ७२ जना विद्यार्थी र ५३ जना शिक्षक कर्मचारी सहित १ हजार ५ सय २५ जनाको विशाल परिवार रहेको छ । प्रधानाध्यापकको रिपोर्ट अनुसार कुल विद्यार्थी मध्ये ३०७ जना दलित समुदायका विद्यार्थी, ४९५ जना विद्यार्थी जनजाति समुदायका र ३६ जना विद्यार्थी अन्य समुदायका विद्यार्थी रहेका छन् । 


बिहीबार भएको वार्षिकोत्सव एवम् अभिभावक दिवश समारोहमा प्रमुख अतिथि गैंँडाकोट नगर उपप्रमुख शान्ति कोइरालाले विद्यालयकोे सफलता प्राप्तिका लागी शिक्षक, अभिभावक र विद्यार्थीको अतुलनीय योगदान रहेको बताएकी छन् ।  उपप्रमुख कोइरालाले  विद्यालयले शिक्षा क्षेत्रमा गुणस्तरीय कार्य गर्दै आएको र आगामी दिनमा अझ असल कार्यका साथ अगाडी बढ्ने कुरामा आफु विश्वस्त रहेको बताएकी छन् ।   


कार्यक्रममा विद्यार्थीहरुको एक समूहले स्वागत गीत गाएर अभिभावक तथा अतिथिलाई स्वागत गरेका थिए । विद्यार्थीतर्फबाट सम्पूर्ण विद्यार्थीको प्रतिनिधित्व गर्दै दीपिका गैरेले मन्तव्य राखेकी थिइन ।  कार्यक्रममा विशिष्ट अतिथी गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनाल, गँैंडाकोट नगर शिक्षा अधिकारी डा. बालकृष्ण चापागार्इं, वडा अध्यक्ष एवम् पूर्व व्यवस्थापन समितिका अध्यक्ष प्रेमप्रसाद सापकोटा, संस्थापक अध्यक्ष शालिकराम सापकोटा, पूर्व अध्यक्ष भीमप्रसाद शर्मा, ओमप्रसाद सापकोटा, करुणासागर सुवेदी, शालिकराम सापकोटा, विजय एफएमका स्टेशन म्यानेजर श्रीधर उपाध्याय, विभिन्न विद्यालयका प्रधानाध्यापक, संस्थापक सदस्य, विभिन्न वडाका वडाध्यक्ष, संस्थापक, चन्दादाता, अभिभावक, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा विद्यार्थीहरूले विभिन्न प्रदर्शनी सामाग्रीहरू राखेका थिए । विद्यार्थीहरूले करुवा, तेक्वान्दो लगायतको नृत्य प्रस्तुत गरेका थिए । 


शिक्षक प्रतिनिधि यशोदादेवी कंडेलले स्वागत मन्तव्य राखेको उक्त कार्यक्रममा कार्यक्रमको सहजीकरण कालिका माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक तथा सुचना अधिकारी राजु पुरीले गरेका थिए । 
(विजय खबर पत्रिकाबाट साभार )