संविधान संशोधन सबै दलको सहमतिमा हुने गृहमन्त्री लेखकको दाबी ।
चितवन । गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता रमेश लेखकले संविधान संशोधनको विषयमा प्रारम्भिक छलफल सुरू भएको बताउनुभएको छ । चितवनमा भएको पत्रकार सम्मेलनमा उहाँले संविधान संशोधन सङ्घीय लोकतान्त्रिक शासन व्यवस्था र समावेशीतालाई बलियो बनाउनका लागि गर्न लागिएको बताउनुभयो । संविधान संशोधन सत्तारुढ प्रमुख दुई वटा दलले मात्रै गर्ने नभइ सबै दलको सहमतिमा हुने उहाँको भनाइ छ । संविधानको अभ्यासको विषयमा समीक्षा, संविधानको अभ्यास गर्ने क्रममा देखिएका सबल पक्ष र दुर्वल पक्षलाई हेरेर सबै राजनीतिक पक्षसँग छलफल गरेर सहमतिका साथ संविधान संशोधन गर्ने गृहमन्त्री लेखकले बताउनुभयो ।
सरकारको स्थायित्वनै कमजोर भएको अवस्थामा स्थिर सरकार गठन, भ्रष्टाचार नियन्त्रण, सुशासन, आर्थिक गतिविधिलाई अघि बढाउने, मुलुकको अर्थतन्त्र लयमा ल्याउन, विकास निर्माणलाई गति दिन नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर सरकार बनेको पनि उनको भनाइ थियो।