वाणिज्य बैंकहरुको ब्याजदर ः तीन वटाले घटाए, तीन वटाको बढ्यो ।
पुस महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । भोलिदेखि लागू हुनेगरि नयाँ ब्याजदर सार्वजनिक गरिएको हो । सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकमध्ये तीन वटा वाणिज्य बैंकले ब्याजदर बढाएका छन् भने तीन वटाले घटाएका छन् । बाँकी १४ वटा वाणिज्य बैंकले मंसिरकै ब्याजदरलाई निरन्तरता दिएका छन् । ब्याजदर बढाउने बैंकहरुमा कृषि विकास बैंक, एनएमबी बैंक र प्राइम कमर्सियल बैंक रहेका छन् भने घटाउनेमा नेपाल बैंक, सानिमा बैंक र एनआईसी एशिया बैंक रहेका छन् । मंसिरको तुलनामा पुसमा वाणिज्य बैंकहरुको औसत ब्याजदर ० दशमलव ०५ प्रतिशत विन्दुले बढेको देखिन्छ । यो मंसिर महिनामा वाणिज्य बैंकको एक वर्षे मुद्दती निक्षेपको ब्याजदर औसत ५ दशमलव ९७ प्रतिशत रहेको थियो । पुसमा ० दशमलव ०५ प्रतिशत बिन्दुले बढेर ६ दशमलव ०२ प्रतिशत बिन्दुमा पुगेको बैंकहरुले प्रकाशित गरेको ब्याजदर तालिकामा उल्लेख छ ।