नेराशको स्वर्ण महोत्सवका कार्यक्रम सुरु
नवलपरासी पूर्व । गैँडाकोट वाड नं. १ मा रहेको श्रीनेपाल राष्ट्रिय शमसेर आदर्श माध्यामिक विद्यालय ५० औँ वर्षमा पुगेको छ । वि.सं. २०३२ सालमा स्व. शमसेर बहादुर अधिकारीको स्मृतिमा यस क्षेत्रका शैक्षिक व्यक्तिहरुको प्रयासमा विद्यालयको स्थापना भएको थियो । विद्यालयले स्वर्ण महोत्सवका अवसरमा विद्यार्थी, अभिभावक र समुदायस्तरका विभिन्न कार्यक्रमको आयोजना गरेको छ । शनिबार विद्यालयमा भएको स्वर्णमहोत्सव २०८१ को घोषणा सभा, मूल समारोह समिति भेला एवम् पत्रकार सम्मेलनमा विद्यालय प्रधानाध्यापक इन्द्रराज भट्टराई महोत्सवका विभिन्न कार्यक्रमका बारेमा जानकारी गराउनुभएको छ ।
स्वर्ण महोत्सवका अवसरमा मंसिर २८ गते अभिभावक भेला तथा निःशुल्क स्वास्थ्य शिविर विद्यालयले सम्पन्न गरिसकेको छ । मंसिर ३० गते पूर्व शिक्षक, कर्मचारी पुनर्मिलन कार्यक्रम, पूर्व विद्यार्थी पुनर्मिलन कार्यक्रम, पौष ५ गते नगरस्तरीय अन्तरमावि हाजिरी जवाफ प्रतियोगिता, प्रतिभा प्रस्तुति, पौष ७ र ८ गते अन्तर सदनात्मक खेलकुद र वक्तृत्व कला प्रतियोगिताको आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक भट्राईले बताउनुभएको छ । यसैगरी पौष ९ गते निवन्ध लेखन प्रतियोगिता, नृत्य प्रतियोगिता, टग अफ वार, खुला म्युजिकल चियर, ट्यालेण्ट शो, साइनिङ स्टार नेराश लगायतका कार्यक्रम हुने भएको छ ।
यस्तै पौष १० गते महिला समूह हाजिरी जवाफ प्रतियोगिता, टोल विकास संस्थाको मैत्रीपूर्ण खेल आयोजना गरिएको छ । यसैगरी पौष ११ गते फुटसल प्रतियोगिता, छात्रछात्रा भलिबल खेल हुनेछ । पौष १२ गते रक्तदान कार्यक्रम, अभिभावक मैत्रीपूर्ण खेल, पौष १३ गते जेष्ठ नागरिक सम्मान, विद्यार्थीलाई अक्षयकोष छात्रवृत्ति वितरण, पुरस्कार वितरण कार्यक्रम रहेको छ । पौष १६ गते विद्यालयले स्वर्ण महोत्सव समारोहको भव्य कार्यक्रम आयोजना गर्नेछ । यस दिन शोभायात्रा, स्वर्ण महोत्सव अनावरण, स्वर्ण प्रवेशद्धार समुद्घाटन, ८ कोठे भवन समुद्घाटन, सांस्कृतिक कार्यक्रम रहेको प्रधानाध्यापक इन्द्रराज भट्राईले जानकारी दिनुभएको छ ।
वि.सं. २०५८ सालबाट पहिलो पटक एसएलसी परीक्षामा सहभागी भइ गैँडाकोट नगरपालिका क्षेत्रमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको छ । विशेष शिक्षा कार्यक्रम अन्तर्गत फरक क्षमता भएका बालबालिकाहरुलाई शिक्षा दिने काम गर्दै आइरहेको छ । यस विद्यालयमा १४ जना फरक क्षमता भएका बालबालिकाहरु अध्ययनरत रहेका छन् ।
स्वर्ण महोत्सवको घोषणा सभा कार्यक्रमका प्रमुख अतिथि गैँडाकोट नगरप्रमुख मदनभक्त २०१५ सालमा तनहुँमा स्वीकृति पाएको विद्यालयले २०३२ सालमा अहिले रहेको स्थानमा सुरुवात भएको बताउनुभयो । नगरप्रमुख अधिकारीले हजुरबुवाको स्मृतिमा स्थापना भएको यस विद्यालयमा आफ्नो परिवारका तर्फबाट सक्दो सहयोग हुँदै आएको र आगामी दिनमा पनि सहयोग निरन्तर रहने बताउनुभएको छ ।
शनिबार आज भएको कार्यक्रममा जनक नमुना माध्यामिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशवप्रसाद सापकोटा, पूर्व गाविस उपाध्यक्ष टोलनाथ घिमिरे, सल्लाहकार कृष्णप्रसाद घिमिरे, ओमप्रसाद सापकोटा लगायतले विद्यालय टहराबाट यो अवस्थासम्म आइपुग्न यहीँको समुदायको उल्लेख्य योगदान रहेको बताउँदै समुदाय धन्यवादको पात्र भएको बताएका थिए ।
विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कविराज आचार्यले वर्तमान समय सापेक्ष राष्ट्र र राष्ट्रियताप्रति समर्पित उच्च नैतिकवान, जिम्मेवार, सीपयुक्त, दक्ष जनशक्ति उत्पादनमा विद्यालयले आगामी दिनमा विशेष योजनाका साथ अघि बढ्ने बताउनुभएको छ । विद्यार्थीहरुलाई प्राविधिक शिक्षाको आवश्यकता बोध भएको हुँदा विद्यालय त्यस तर्फ पनि अघि बढ्ने अध्यक्ष आचार्यले बताउनुभएको छ ।
विद्यालयका प्रधानाध्यापक इन्द्रराज भट्राईले अतिथिहरुलाई शब्दपुष्प मार्फत स्वागत गर्नुभएको थियो । विद्यालयका सहायक प्रधानाध्यपक कृष्णप्रसाद भट्राईले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो ।
शनिबार भएकै कार्यक्रममा स्व. सोहनभक्त अधिकारीको स्मृतिमा अक्षयकोष स्थापना गरिएको छ । परिवारका तर्फबाट स्व. सोहनभक्त अधिकारीका दाजु गैँडाकोट नगरप्रमुख मदनभक्त अधिकारी, श्रीमती प्रेमकुमारी अधिकारी सहित परिवारका सदस्यले रु ५ लाखको चेक अक्षयकोषका लागि हस्तान्तरण गरेका छन् ।
कार्यक्रममा निवर्तमान वडा अध्यक्ष हरिप्रसाद सापकोटा, गैँडाकोट ४ का वडा अध्यक्ष तेजप्रसाद घिमिरे, नगर शिक्षा समिति सदस्य विष्णुमाया पन्थी, सामाजिक व्यक्तिहरु बद्री सापकोटा, षडानन्द लामिछाने, करुणासागर सुवेदी, विजय एफएमका स्टेशन म्यानेजर श्रीधर उपाध्याय लगायतको उपस्थिति रहेको थियो ।