गैँडाकोटमा खुसी, स्वास्थ्य र शान्तिका लागि स्वजागरण कार्यक्रम सम्पन्न
गैँडाकोट नगरपालिकाको आयोजना तथा गैँडाकोट नगर प्रज्ञा प्रतिष्ठान गैँडाकोट र जीवन विज्ञान नगर परिषद् गैँडाकोटको संयोजनमा स्वजागरण कार्यक्रम शनिबार गैँडाकोटमा सम्पन्न भएको छ ।
कार्यक्रममा जीवन विज्ञान प्रतिष्ठानका श्रद्धेय रमेश गुरुदेवले खुसी, स्वास्थ्य र शान्तिको जागरण नै स्वजागरण भएको प्रष्ट पार्दै स्वजागरणले समृद्धि, स्वतन्त्रता र स्वाभिमानका लागि प्रेरणा दिने काम गर्ने बताउनुभयो । सो अवसरमा गुरुदेवले स्वजागरण ध्यानविधिको प्रयोग गर्दै मन, शरिर र श्वासलाई एकतृत गर्नुपर्ने कुरा बताउनुभयो । शरिर, मन र श्वासको संयोजन मिलाएर योगमा समाहित हुनका लागि आग्रह गर्नुभयो । सबै भन्दा ठूलो धन नै स्वास्थ्य रहेकाले आँफू स्वस्थ्य रहनु नै सबै भन्दा ठूलो देवपुजा रहेको उहाँले कुरा बताउनुभयो । उहाँले संयुक्त राष्ट्र संघले डिसेम्बर २१ लाई विश्व ध्यान दिवसका रुपमा मनाउन गरेको घोषणालाई बृहत रुपमा मनाउँदै गैँडाकोटबासीले यसबाट फाइदा लिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नगरप्रमुख मदनभक्त अधिकारीले स्वस्थ्य रहेर जीवन जिउन सम्पूर्ण नगरबासीलाई आग्रह गर्दै नगरबासीको स्वास्थ्यको बारेमा आँफूले सधैँ चिन्तन गरेको कुरा बताउनुभयो । नगरले सम्पूर्ण नगरबासीलाई योग र साधनासँग जोड्नका लागि योग र साधनालाई ध्यानमा राखेर आगामी योजना तय गर्ने कुरा व्यक्त गर्नुभयो । गैँडाकोट नगरपालिकाले गैँडाकोटमा योग विज्ञानको प्रयोगशाला निर्माण गर्नका लागि कार्यपालिकामा सल्लाह गरेर कार्य अगाडी बढाउने बताउनुभयो ।
कार्यक्रमा नगर उपप्रमुख शान्ति कोइराला, कार्यपालिका सदस्य, वडा अध्यक्ष, वडा सदस्य, शिक्षा समिति सदस्य, नगरपालिकाका कर्मचारी , गैँडाकोट नगर प्रज्ञा प्रतिष्ठानका पदाधिकारी,जीवन विज्ञान नगर परिषद्का प्रतिनिधि, क्याम्पस प्रमुख, विद्यालयका प्रधानाध्यापक, शिक्षक , विभिन्न संघ संस्थाका प्रतिनिधी, टोल विकास संस्थाका प्रतिनिधी , लगायत १५० भन्दा बढी गैँडाकोट बासीको उपस्थिति रहेको थियो । नगर प्रमुख एवं गैँडाकोट नगर प्रज्ञा प्रतिष्ठानका कुलपति मदनभक्त अधिकारीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रम प्रतिष्ठानका सचिव भिम शर्माले सहजीकरण गर्नुभएको थियो ।