सुन्तलाखेतीबाट मनग्य आम्दानी गर्दै कृषक । 

२०८१ मङ्सिर २६ बुधबार २०:०९:०० मा प्रकाशित

तनहुँको देवघाट गाउँपालिका–३ का कृषक सुन्तला बिक्रीबाट मनग्य आम्दानी गरिरहेका छन् । उक्त वडाको बाटक, लुङ्ग्रिङ, छिपछिपे, छापस्वाँरा, दगराबाट मात्रै यस वर्ष रु तीन करोड बराबरको सुन्तला बिक्री हुने कृषकको अनुमान छ । स्थानीय कृषक भीमबहादुर रानाले यस वर्ष यो वडाबाट रु तीन करोडभन्दा बढीको सुन्तला बिक्री हुने अनुमान गरिएको बताउनुभयो । लुङ्ग्रिङमा एकै घरबाट  २० लाखभन्दा बढीको सुन्तला बिक्री हुने उहाँले जनकारी दिनुभयो । विगतमा केही अन्नबाली उत्पादन नभएर भोकै बस्नुपर्ने बाध्यता भएका बाटकवासी केही वर्षयता भने सुन्तला बेचेरै लखपति बनेको स्थानीय कृषक प्रेम थापाले बताउनुभयो । पछिल्लो समय सुन्तलामा विभिन्न किसिमका रोग देखिँदा कृषक भने चिन्तित छन् ।

सोही वडाका स्थानीय जितबहादुर थापाका अनुसार रोग नलागेको भए  तीन करोडभन्दा बढीको सुन्तला बिक्री हुने अनुमान थियो । यहाँ करोडौँ मूल्य बराबरको सुन्तला उत्पादन भए पनि उक्त सुन्तलालाई बजारसम्म लैजान भने समस्या हुँदै आइरहेको छ । नदीपारि रहेको लुङग्रिङ, बाटक, छिपछिपे, छापस्वाँरा तथा दगरा गाउँलाई राजमार्गसम्म जोड्न त्रिशूली र सेती नदीमा पुल नहुँदा सुन्तला बजारसम्म लैजान समस्या हुने कृषक बताउँछन् ।

लुङग्रिङ र छिपछिपेका कृषकले बुद्धसिंह मार्गको नाल्दीघाट तथा मुग्लिङ नारायणगढ सडकको गाईघाटसम्म सुन्तला जीपमा ल्याएर त्यहाँबाट बोकाएर झोलुङ्गे पुल तारेर राजमार्गसम्म ल्याउँछन् । छापस्वाँरा र दगराका कृषकले भने ग्राभिटी रोपवेमार्फत बुद्धसिंह मार्गमा झारेर त्यहाँबाट दमौली हुँदै काठमाडौँ लैजाने गरेका छन् । नाल्दी र गाइघाटमा पुल नहुँदा ढुवानी खर्च महङ्गो हुने गरेको कृषक हरिकुमार श्रेष्ठको भनाइ छ । गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले देवघाट तीन तिरबाट नदीले घेरिएको र उक्त ठाउँमा पुल नहुँदा समस्या भइरहेको बताउनुभयो ।