चितवनमा किम्बूका बिरुवाको माग घट्यो

२०८१ मङ्सिर ८ शनिबार १८:४३:०० मा प्रकाशित

चितवन । किम्बू नर्सरीका बिरुवाको माग घटेसँगै व्यावसायिक किट विकास फार्म भण्डाराले बिरुवा उत्पादन घटाएको छ । कार्यालयका अनुसार गत वर्ष छ लाख बिरुवा बिक्री वितरण गरेकामा यस वर्ष तीन लाख बिरुवा लगाउने तयारी गरिएको हो ।


फार्र्मका प्रमुख पूर्णिमा क्षेत्रीका अनुसार गत वर्ष तयार गरिएका बिरुवा ५० हजार हाराहारी बिक्री नभइरहेका छन् । गत वर्ष उत्पादित बिरुवा बिक्री भइनसकेकाले अहिले उत्पादनको लक्ष्य कम गरिएको उहाँले बताउनुभयो ।


अघिल्लो वर्ष किसानले माग गरेर पनि लिन नआएपछि बिरुवा उत्पादन कम गर्न लागिएको उहाँले जानकारी दिनुभयो । अहिले पशुचोपायलाई खुवाउने घाँसको रुपमा मात्र किम्बूको बिरुवा लगाउने गरिएको क्षेत्रीले बताउनुभयो । उहाँका अनुसार पहिलापहिला एक लाख बिरुवा लैजाने किसानले अहिले एक हजार मात्रै लाने गरेका छन् । माग बढ्न नसेपछि बिरुवा उत्पादनको लक्ष्य घटाइएको उहाँको भनाइ छ ।


रोजगारीको शिलशिलामा युवाशक्तिहरु बिदेश पलायन हुनु र रेशम खेती विस्थापित हुनुले किम्बूका बिरुवाको माग घटेको क्षेत्रीले जानकारी दिनुभयो । गत वर्ष पाँच हेक्टर क्षेत्रफलमा किम्बुको बिरुवा उत्पादन गरिएकामा अहिले क्षेत्रफल घटेर तीन हेक्टरमा मात्र बिरुवा लगाउन थालिएको उहाँले बताउनुभयो । सुरुवातमा चितवनको माडी, दोलखा, रामेछाप, धनकुटा, भोजपुर, सिन्धुलीलगायत जिल्लामा व्यावसायिक रूपमा रेशम खेती हुने गरेको थियो ।